Odapalika - The Fourth Estate - चौथो अंग
विपन्न र वेवारिसेको निःशुल्क उपचारमा काठमाडौँ महानगरको फड्को, यसरी गर्दैछ काम 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन गरेको छ । 

मंगलबार बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठकले समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउने काम  निर्देशक समितिले गर्नेछ । 

महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ । समितिको सदस्यमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार,स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन् ।

यस्तै संघीय स्वास्थ्य मन्त्रालयकातर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयकातर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलका तर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोक छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपालका वागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य, नेपाल नर्सिङ्ग काउन्सिलका तर्फबाट शुक्ला खनाल सदस्य छन् ।

सरकारी अस्पतालहरुका प्रमुखमध्ये कान्ति अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनित भएका छन् भने समितिको सदस्य सचिवमा स्वास्थ्य विभागका प्रमुख सजिना महर्जन छन् ।

सेवा दिन र लिन सहज होस भनेर समिति गठन गरिएको मेयर बालेनलले जानकारी दिए ।  लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रुपमा प्राप्त गर्न समितिले सहजीकरण गर्ने उनको भनाइ छ । 

कसरी हुन्छ निःशुल्क सेवा कार्यान्वयन ?

निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरपालिकाले फ्रीहेल्थ डट काठमाडौँ डट जीओभी डट एनपी  वेभ ठेगानामा प्रणाली विकास गरेको छ । 

यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ ? वेड संख्या कति हो, कतिवडा वेडमा विरामीले उपचार गराइरेहका छन्, कतिवटा खाली छनर लगायतका विवरण देखाउँछ । 

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौँ मोडेल अस्पतालमा यो प्रणाली परीक्षण भइसकेको छ । 

यसमा कुन रोगको कति जनाले उपचार गराए, कति दिन गराए, को कहिले भर्ना भयो, कहिले डिस्चार्ज भयो?लगायतका सबै विवरण उपलब्ध हुने उनको भनाइ छ । 

सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका शिफारिसका आधारमा सेवा उपलब्ध हुनेछ । यो सेवा देशभरिका नागरिकका लागि भएको महानगरको भनाइ छ । 

प्रणाली चलाउन युजर नेम र पासवर्ड चाहिन्छ । विभागले माघको २५ गतेदेखि २९ गतेसम्म महानगरपालिका क्षेत्र भित्रका सबै निजी अस्पतालहरुका प्रमुख र मेडिकल रेकर्डरलाई अभिमुखीकरण प्रदान गर्ने योजना बनाएको छ । जनस्वास्थ्य विभागका प्रमुख सजिना महर्जनका अनुसार अभिमुखीकरणपछि अस्पतालहरुलाई प्रणाली चलाउन युजर नेम र पासवर्ड प्रदान गरिनेछ ।

निःशुल्क उपचारका लागि के गर्दैछ महानगरपालिका ?

महानगरले ६ जेठ, २०८० मा सार्वजनिक सूचना जारी गर्दै कानुनले तोकेको सुविधा उपलब्ध गराउन अस्पतालहरुलाई अनुरोध गरेको थियोे । 

उपलब्ध गराएको सेवाको विवरण अस्पतालमा टाँस गर्न र प्रत्येक महिनाको १० गतेभित्र महानगरमा पठाउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्न सूचनामार्फत आग्रह गरिएको थियो ।

१६ जेठमा महानगरपालिकाका प्रमुखले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भेटेर संघ तथा प्रदेश सरकार मातहतका अस्पतालहरुमा ७ दिनभित्र निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेका थिए । 

प्रमुखसँगको भेटपछि १९ जेठमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने गराउने निर्णय गरेको थियो । 

२१ जेठमा मन्त्रालयले स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता विरामीहरुको निःशुल्क उपचार हुने व्यवस्था मिलाउन र त्यसको अनिवार्य अनुगमन गर्न गराउन अनुरोध गरेको थियो । यो परिपत्रपछि संघ र प्रदेश सरकारमातहतका अस्पतालको अनुगमनका लागि स्थानीय तहलाई बाटो खुलेको हो । 

यसपछि महानगरपालिकाको स्वास्थ्य विभागले अस्पतालहरुको अनुगमन गरेर । अनुगमन तथा उपचार पद्धतिलाई व्यवस्थित गर्न कार्यविधि बनाइसकेको छ । 

कार्यविधिमा के छ?  

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ ९४० ख २ को स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई दिएको छ । 

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ । 

लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा महानगरपालिकाका प्रमुखको संयोजकत्वमा निर्देशक समितिको व्यवस्था छ । 

अस्पतालहरुमा उपचारको समन्वय र सहजीकरणका लागि महानगरपालिकामा चिकित्सकसहितको निःशुल्क उपचार सेवा एकाई हुने कार्यविधिले व्यवस्था गरेको छ । 

उपचार प्रक्रियाका लागि विरामीले वडालाई शिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने शिफारिस, वडाले गर्ने सर्जमिन, विरामीलाई उपचार दिँदा भर्नु पर्ने फाराम, दैनिक रजिष्टर, उपचार गर्ने विरामी वा निजको आफन्तबाट प्राप्त गर्नुपर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update