Odapalika - The Fourth Estate - चौथो अंग
ड्रोनमार्फत जग्गाको नापजाँच गर्दैछ हरिवन नगरपालिका 

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरु गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार २ महिनाभित्रमा  नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुनेछ ।  हरिवन –१ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको छ । 

सो प्रविधि मार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानले बताइन् ।

उनले ड्रोन तथा डिजिपीएस प्रणालीको विधिबाट काम गर्दा अन्यभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको बताइन् ।

हरिवन–१ का  विभिन्न स्थानको अभिलेख तयार गरी नापी  र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेस गरिने भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी पुर्जा प्रदान गरिने नगरपालिका भूमि सेवा केन्द्रका प्रमुख सुवास कुशवाहाले जानकारी दिए ।

उनकाअनुसार  नगरपालिकाभरि भूमिहीन सुकुम्बासी १ हजार २० जना, भूमिहीन दलित २९१ र अव्यवस्थित बसोबासी २ हजार ५२१ जनाको फारम हालसम्म अनलाइनमा प्रबिष्ट भइसकेको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update