Odapalika - The Fourth Estate - चौथो अंग
जनप्रतिनिधिको रुख काट्ने अभियान, वडाध्यक्ष भन्छन्ः पीडित जनताको कुरा सुन्ने हो 

काठमाडौँ । कृषकका खेतवारीमा बाँदर आतंक वढेपछि स्थानीय जनप्रतिनिधिहरुले धमाधम निजी बनका रुख काट्न र झाडी फडानी गर्न आग्रह गरिरहेका छन् । 

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले पनि बाँदर आतंक नियन्त्रण गर्न निजी बनका रुख काट्न र झाडी फाँड्न स्थानीयवासीलाई आग्रह गरेको छ । 

यसअघि पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पनि यस्तै अभियान चलाउन खोजेको थियो । तर चौतर्फी विरोध पछि मेयर धनराज आचार्यले वडाध्यक्षको निर्णयमा रोक लगाएका थिए । 

बाँदर आतंक कम नभएपछि त्रिपुरासुन्दरीका वडाहरुपनि रुख काटेरै भएपनि बाँदर आतंक नियन्त्रणको प्रयासमा जुटेको बताउँछन् । 

यो पालिकाले गतवर्ष बाँदर नियन्त्रणका लागि भन्दै ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । रुख काट्ने अभियान चलाइरहेका वडा नम्बर ३ का वडा अध्यक्ष शिव कुमार कार्कीका अनुसार सो बजेटबाट सामुदायिक बनको झाडी फडानी, स्कुस, फर्सीलगायतका बाली रोप्नेजस्ता कार्यपनि भए । 

‘तर पालिकोको यो अभियान सफल भएन, यसले पनि बाँदर नियन्त्रण नभएपछि यसपटक हामीले निजी बनका काट्न मिल्ने रुख काट्ने र झाडी फाड्ने भनेर अभियान चलाउन खोजेका हौँ,’ कार्कीले वडापालिकासँग भने । 

उनकाअनुसार बाली जोगाउन बाँदर लखेट्ने प्रयास असफल भएपछि स्थानीय जनताकै आग्रह र दवाबमा रुख काट्ने र झाडी फाँड्ने अभियान थालिएको हो । 

‘कसले के भन्छ भन्दा पनि हामीले स्थानीय जनतालाई सुन्ने हो, उनीहरुका पीरमर्का हेर्ने हो । जनताले निजी बनका रुख काटेर र झाडी पाmँडेरै भएपनि बाँदर आतंक नियन्त्रण गर्नुपर्ने भनेपछि यो निर्णय गरेका हौँ,’ कार्की भन्छन् । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update