Odapalika - The Fourth Estate - चौथो अंग
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार 

महोत्तरी । बर्दिवास नगरपालिका वडा नम्बर ४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ । 

रुघाखोकी, प्रेसर, सुगर जस्ता रोगहरु लागेपछि सोलीघोप्टे वरपरको जंगलमा गाँउलेहरू जडिबुटीजन्य बनस्पति खोज्न धाउने गरेको पोखरेल अहिले पनि सम्झन्छन् । 

उनलाई अझैपनि अस्पताल र स्वास्थ्य चौकीको विश्वास लाग्दैन । बरु चिकित्सकहरुको लापरवाहीका घटनाहरु र गलत औषधिको प्रयोगले ज्यान गएको समाचार सुन्दा अचम्म लाग्छ ।

‘यो समाज कता जादै छ ? हामी किन हाम्रै घरआगनमा भएका औषधि प्रयोग गर्न हिच्किचाइरहेका छौँ ?’ पोखरेल प्रश्न गर्छन् ।

६० बर्षीय पोखरेल मात्र हैन बर्दिवास–४ कै अर्का स्थानीय टेक बहादुर डीमडम पनि स्थानीय सरकार तथा सरोकारवाला निकायको वेवास्ताप्रति चिन्ता ब्यक्त गर्छन् । 

‘हाम्रो सोलीघोप्टे जंगलमा मात्र १०० वटाभन्दा बढी जातका जडिवुटी पाइन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारी छ,’ उनी भन्छन्, ‘जडिवुटी हवको रुपमा विकास गर्न सकिने यस्ता ठाउँ स्थानीय सरकारको वेवास्तामा पर्नुले झन् दुःख लाग्छ ।’  

a1707302851.jpg

२०३६ सालदेखि यही ठाँउमा बसोबास गर्दै आएका पूर्ववडाध्यक्ष दिप वहादुर कार्की रचनात्मक व्यवस्थापन गर्न सक्ने जनप्रतिनिधिको अभावले नै यस्ता ठाउँहरु ओझेलमा परेको वताउँछन् । 

आफु वडा अध्यक्ष हुँदासमेत जडीबुटी हवको रुपमा विकास गरी वातावरणीय पर्यटन प्रवद्र्धन गर्न कोसिस गरेको बताउँदै हाल यस्ता जडिवुटी स्थानीय सरकारको वेवास्ताको सिकार भएको उनको ठहर छ ।

उनी आफैँपनि यही जंगलका कयौ जडिबुटीहरुको प्रयोग गरी रोग निको बनाउदै आएको दाबी गर्छन् ।  पायलस, फिस्टुला, झाडापखाला, पिनास, ज्वरो जस्ता सामान्य रोगको लागी अस्पताल वा स्वास्थ्य चौकी अहिलेसम्म नगएको उनको भनाइ छ । 

‘म मात्र हैन गाँउ नै जडीबुटीको प्रयोग गरेर स्वस्थ बन्दै आएका हुन् । अब स्थानीय सरकारले संरक्षित क्षेत्र घोषणा गरी दिगो आयआर्जनको विकास गर्नुपर्छ,’ उनी भन्छन् ।

आयुर्वेदका चिकित्सक इन्द्र महतो पनि जडिबुटी नै जडिबुटी पाइने यो क्षेत्रलाई जडिबुटी हवको रुपमा विकास गर्नुपर्ने बताउँछन् । बर्दिवास उद्योग बाणिज्य संघले गत शनिवार आयोजना गरेको पदयात्रामा सहभागी भएका चिकित्सक महतोले गौशाला नगरपालिकामा रहेको आयुर्वेदिक कलेजलाई सोलीघोप्टे जंगलसँग जोडन सकिने धारणा राखे ।

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जंगलमा पाइने जडिबुटी र मनोरम प्राकृतिक दृश्यहरुलाई पर्यटनसँग जोडेर पर्यटकीय केन्द्रका रुपमा समेत विकास गर्नुपर्नेमा जोड दिए ।

‘सोलीघोप्टे पहाड उक्लेर चुचुरामा पुग्दा छुट्टै आनन्द प्राप्त हुँदो रहेछ,’ उनी भन्छन्, ‘नजिकै रहेको बहुचर्चित पंचधुरामाई मन्दिरलाई जोडेर चुरे पदयात्राको रुपमा समेत विकास गर्न सकिने आधारहरु देखियो ।’

c1707302908.jpg

बर्दिवास उद्योेग बाणिज्य संघका अध्यक्ष बिष्णु खड्काले केही दिनदेखि पर्यटकीय गन्तव्यको खोजी गरेको वताउँदै नगर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाँउहरुको पहिचान गरी प्रतिवेदन समेत तयार गरिरहेको वताए ।

‘सोलीघोप्टे जंगललाई जडिबुटी हवकोरुपमा विकास गर्न सकिने पहिचान गरेका छौँ । बर्दिवास नगरको उत्तरी क्षेत्रका चुरे काखमा हामीले सम्भावनाहरु खोजी गरिरहेका छौँ । देखिएका र सम्भावित गन्तव्यहरुलाई कसरी पर्यटनसँग जोडन सकिन्छ भन्ने अर्को गृहकार्य पनि भइरहेको छ ।’  

१९९४ सालमा वनस्पति स्रोतको जर्गेना र प्रयोग गर्ने उद्धेश्यले वनस्पति गोश्वाराको स्थापना भएको थियो । त्यसपछि वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण तथा दिगो विकास गर्ने उदेश्यले २०१६ सालमा वनस्पति विभागको स्थापना भयो । 

वन तथा वातावरण मन्त्रालय अन्तर्गत विभागका कर्मचारीहरु परिचालन गरी अहिले कार्य सञ्चालन हुदै आएको छ । तर उचित ध्यान दिन नसक्दा सोलीघोप्टे जस्ता जंगलहरु संरक्षणको पर्खाइमा छन् ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update