Odapalika - The Fourth Estate - चौथो अंग
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो बैशाखमा 

काठमाडौँ । आगामी बैशाखमा हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । निजी क्षेत्रका उर्जा उत्पादकहरूको साझा संस्था स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते तीन दिने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना गर्न लागेको हो । 

चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्रालिजलगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरु यसपटकको एक्स्पोमा सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

लगानी सम्मेलनमा आउने विदेशी लगानीकतर्तालाई ध्यानमा राख्दै हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । उनका अनुसार लगानी सम्मेलन उद्घाटनको अघिल्लो दिन एक्स्पो समापन हुनेछ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो  पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेस कम्पनी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डण्डी लगायतका २०० भन्दा बढी स्टल रहने छन् । उक्त स्टल मध्य ५० प्रतिशत विदेशी स्टल हुनेछन् । 

यसअघि सन् २०१७, २०१८ र २०२२ मा एक्स्पो आयोजना भएको थियो । हाल २ हजार ९०१ मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र २ हजार २१४ मेगावाट उर्जा उत्पादन भएको छ । 

यस्तै ३ हजार ३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३ हजार ६१५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता भएर वित्तीय व्यवस्थापनको चरणमा छन् । यसैगरी करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा छन् ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update