Odapalika - The Fourth Estate - चौथो अंग
तातोपानी गाउँसभाद्धारा ८ वटा विधेयक पारित 

काठमाडौँ ।  ८ वटा विधेयक पारित गर्दै जुम्लाको तातोपानी गाउँपालिकाको हिउँदे गाउँसभा सकिएको छ । गाउँसभाले आफ्ना काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ८ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड पारित गरेको जनाएको छ ।

पारित भएका विधेयकमध्ये भू–उपयोग कार्यान्वयन कार्यविधि, २०८०, भूमि व्यवस्थापन ऐन, दिवाखाजा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, एमबिबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि, गरिबी निवारण कोष व्यवस्थापन कार्यविधि, तातोपानी गाउँपालिकाको नक्सा पाससम्बन्धी कार्यविधि, सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि र स्थानीय तह युवा विकास समिति नियमावली कार्यविधि रहेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए । 

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाको सम्पूर्ण घरका लागि बीमा कार्यक्रम सुरु गरेको छ । हालसम्म ८०० घरको बीमा भइसकेको अध्यक्षले जानकारी दिए । 

पालिकाले चालु आवको साउनदेखि माघसम्ममा कुल बजेटको १४ दशमलव ७५ प्रतिशत खर्च गरेको विवरण सभामा पेश भएको छ । गाउँपालिकाले चालु आवमा ५५ करोड ६० लाख २५ हजार बराबरको बजेट ल्याएको थियो । 

वित्तीय समानिकरण अनुदानअन्तर्गतका जम्मा ७६ आयोजना तथा कार्यक्रममध्ये ६१ वटाको सम्झौता सम्पन्न गरी करिब ८० प्रतिशत उपलब्धि हासिल भएको प्रगति सभामा पेश भएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update