Odapalika - The Fourth Estate - चौथो अंग
क्यान इन्फोटेक आजबाट सुरु, सूचना प्रविधिलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड

काठमाडौँ । २९ औँ संकरणको क्यान इन्फोटेक आजदेखि सुरु भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) को आयोजनामा आजदेखि काठमाडौँको भृकृटीमण्डपमा सुरु भएको इन्फोटेक आगामी माघ २९ गतेसम्म सञ्चालन हुनेछ । 

मेलामा एक सय ५० भन्दा बढी कक्ष रहेका छन् । मेलाको झण्डै तीन लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने आयोजकको जनाएको छ । 

आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

क्यान महासङ्घका अध्यक्ष रञ्जीतकुमार पोदारले सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेर रोजगारी सिर्जनाका साथै विदेशी मुद्रा भित्र्याउन थालेको यस क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । 

क्यान इन्फोटेकको आज उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताएकी छिन् ।

rekha sharma1707390585.jpg

सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै उनले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरुप लिने बताईन । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख कार्यभारका रूपमा अघि बढाएको भन्दै उहाँले १६औँ आवधिक योजनामा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको उनको भनाई थियो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले नेपालको हरेक क्षेत्र लगानीका लागि उपयुक्त भए पनि नीतिगत स्थिरताका आभावमा लगानीकर्ता आकर्षित हुन नसकेको उल्लेख गर्दै त्यसका लागि नीतिगत र कानुनी स्थायित्व अपरिहार्य रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको विकासबिना मुलुकको समृद्धि सम्भव नभएकाले सूचना प्रविधिसम्बन्धी सेवा प्रभावकारी बनाएर नेपाललाई ‘आइटी हब’ बनाइनुपर्नेमा जोड दिए ।

यसवर्ष क्यान इन्फोटेकमा  नेपालमै विकास गरिएको  जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update