Odapalika - The Fourth Estate - चौथो अंग
१२ पास छोरीलाई अफरः २० वर्ष अघि विहेमा ब्रेक, मण्डपमै पाइन्छ ५० हजारको चेक

काठमाडौँ । छोरीलाई उच्च शिक्षामा अगाडी बढाउन तथा बालबिवाह रोक्न मधेश प्रदेश अन्तरगत पर्ने सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले एउटा गज्वव कार्यक्रम अघि सारेको छ ।

सो गाउँपालिकाले कम्तिमा १२ कक्षा पास गरेपछि र २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने छोरीलाई विवाह मण्डपमै गएर ५० हजार रुपैयाँ प्रोत्साहन अनुदान दिने गरेको हो । बाल विवाह रोक्न र छोरीलाई उच्च शिक्षामा पहुँच पुर्याउन कुनै सिर्जनात्मक काम हुन सक्छ कि भन्ने खोजी गर्दा यस्तो कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतो बताउँछन् ।

chairman-Rajkumar-Mahato,-c1707470874.jpg

‘पहिलो कुरा त बालविवाह रोक्न समुदायलाई नै जागरुक पार्ने खालको कार्यक्रम ल्याउनु पर्ने थियो । दोस्रो, छोरीलाई उच्च शिक्षाको पहुचमा पुर्याउनु पर्ने थियो । यसका लागि बेग्लाबेग्लै कार्यक्रम संचालन गर्नेभन्दा पनि एउटै र प्रभावकारी कार्यक्रम ल्याउन पाए हुन्थ्यो भनेर हामीले धेरै विमर्श गर्यौं । यस्तैमा प्रोत्साहन भत्ता दिने कार्यक्रम सुरु गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेपछि यो कार्यक्रम सुरु भएको हो,’ अध्यक्ष महतोले वडापालिकासँग भने ।

अध्यक्ष महतोले आफू अध्यक्षमा निर्वाचित भएपछि गरेको पहिलो निर्णय नै यही थियो । अध्यक्षमा निर्वाचित भएपछि मेयरले गरेको सो निर्णय अनुसार गत आर्थिक वर्षदेखि चन्द्रनगर नगरपालिकाले यस्तो कार्यक्रम संचालन गरिरहेको छ । २०७९ को बैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो ।

chandra-nagar-gapa-bihe-anu1707462602.jpg

‘निर्वाचित भएर आएपछि पहिलो निर्णय भन्ने हुँदो रहेछ । त्यसमा के निर्णय गर्ने भन्ने पनि भएको थियो । बालविवाह रोक्न मद्दत गर्ने र छोरीलाई उच्च शिक्षामा पहुच पुर्याउन सहयोग गर्ने देखिएपछि यही कार्यक्रम संचालन गर्ने भनेर मेरो पहिलो निर्णय भएको पनि हो,’ अध्यक्ष महतोले थपे ।

गाउँपालिकाको तर्फबाट प्रदान गरिने यस्तो प्रोत्साहन भत्ताको लागि सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको हुनुपर्छ । विवाहको दिनभन्दा अगाडी वडाले सिफारिस गरेपछि गाउँपालिकाका प्रतिनिधि तथा वडाका प्रतिनिधिहरु विवाहको दिन मण्डपमै गएर बेहुलीलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेर फर्कन गरेका छन् ।

‘विवाहको दिन विवाह मण्डपमै गएर प्रोत्साहन अनुदान रकम हस्तान्तरण गर्ने गरेका छौं । विवाहमा पनि स्वयम्बर हुने बेलामा गएर रकम दिने गरिएको छ । सो समयमा जन्ती तथा घरगाउँले गरी करिब हजार जनाजति सहभागी हुने भएकोले यो कार्यक्रमको प्रचार प्रसार हुने र बालविवाह र छोरीलाई उच्च शिक्षामा पहुँच बढाउन सहयोग पुग्ने देखिएकोले यस्तो समय छनोट गरिएको हो,’ अध्यक्ष महतोले भने ।

गाउँपालिकाले संचालन गरेको यो कार्यक्रबाट बालविवाह रोक्न र छोरीलाई उच्च शिक्षामा पहुँच अभिबृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया गाउँपालिकाले प्राप्त गरेको उनको भनाइ छ । गाउँपालिकाले गत वर्षको मंसिर महिनामा वडा नम्बर २ को दनवारी टोलकी रेणु सिंहको विवाहमा पहिलो पटक ५० हजार रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराएको थियो । अहिलेसम्म सो गाउँपालिकाबाट ३७ जनाले यसरी प्रोत्साहन अनुदान प्राप्त गरिसकेका गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update