Odapalika - The Fourth Estate - चौथो अंग
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल

भक्तपुर । भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ ।

धानबालीमा लाग्ने रोग र कीरा नियन्त्रणका विषयमा वडास्तरमा प्रशिक्षण सञ्चालन गरी किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । 

भेलालाई सम्बोधन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानसँग जोडिएका कुनै पनि काम गर्न नसकेको बताए । उनले नार्कका कृषि वैज्ञानिकहरूलाई नयाँ–नयाँ अनुसन्धानमा क्रियाशील बनाउनुपर्ने र कृषि प्राविधिकहरू उत्पादन गर्नेतर्फ सरकारले जोड दिनुपर्ने बताए । 

भक्तपुर नगरपालिकाले माटो परीक्षण गर्ने प्रयाेगशाला निर्माणमा जोड दिने बताउँदै नगरप्रमुख प्रजापतिले नेपाललाई आत्मनिर्भर बनाउन कृषि अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष राजकृष्ण गोराले किसानलाई रोग नियन्त्रणका उपायबारे सजग बनाउन सकिएमा खाद्यान्न उत्पादनमा वृद्धि हुने भएको नपाले यस्ता कृषि भेलाजस्ता कार्यक्रम गर्दै आएको जानकारी दिए ।  

नेपाल क्रान्तिकारी किसान सङ्घका उपाध्यक्ष गोविन्द दुवालले नेपालले कृषि प्राविधिकहरूको उत्पादनमा जोड दिनुपर्ने बताउँदै धानबालीमा लाग्ने रोगबारे किसान समयमै सचेत हुनसकेमा भविष्यमा नोक्सानीबाट बच्ने बताए ।

भक्तपुरका कृषकको सहभागिता रहेको सो भेलामा कृषि अधिकृत रवि ख्याजुले धानबालीमा लाग्ने विभिन्न रोगको प्रकोप र त्यसको नियन्त्रणका उपायबारे जानकारी गराए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update