Odapalika - The Fourth Estate - चौथो अंग
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद 

काठमाडौँ । बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकाले वाल विवाह रोक्ने अभियान थालेको छ । 

लुम्बिनी प्रदेशमै वाल विवाह हुनेमध्ये चौथो नम्बरमा रहेको यो जिल्लाको सुस्ता ले भने  बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ अघि सारेको हो । 

कार्यक्रमअन्तर्गत छोरी जन्मेपछि गाउँपालिकाले छोरीको नाममा पैसा दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष गीता चौधरीले बताइन् । 

छोरी जन्मेपछि उसको नाममा २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको उनको भनाइ छ । 

यसका लागि केही सर्त भने पुरा गर्नुपर्नेछ ।  पालिकाले  कार्यविधिमार्फत जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता गराइसक्नुपर्ने लगायतका सर्त राखेको छ । 

सुत्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार ८ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, कक्षा १२ सम्म अध्ययन गराउने प्रतिवद्धता जनाएका र २ सन्तान मात्र भएकाले यो सुविधा पाउनेछन् । 

अध्ययनबाहेकका शर्त पूरा गरेपछि ४५ दिनभित्रै गाउँपालिकामा आमाबुबामध्ये एक जना संरक्षकले कागजात पेश गरे खातामा २५ हजार रुपैयाँ जम्मा गरिदिने गरेको उपाध्यक्ष चौधरीले जानकारी दिइन् । यसरी जम्मा भएको रकम २० वर्षपछि मात्र निकाल्न मिल्ने गरी कार्यविधि बनाइएको पालिकाको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update