Odapalika - The Fourth Estate - चौथो अंग
अब पालो ‘कता हो’को, स्थानीय तहले यसरी लिन सक्छन् फाइदा

काठमाडौँ । बोलेर अरुसँग आफ्नो स्थान शेयर गर्न सकिने नेपाली एप ‘कता हो’ सार्वजनिक भएको छ । बिहीबारदेखि सुरु भएको २९औँ संकरणको क्यान इन्फोटेक मेलामा उक्त एप सार्वजनिक गरिएको हो ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा काठमाडौँको भृकृटीमण्डपमा सुरु भएको इन्फोटेक आगामी माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

उक्त मेलामा रहेका १५० स्टलमध्ये ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली स्टल नम्बर डि ३४ मा छ । नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आएको रामलक्ष्मण ग्रुपले यो प्रणाली सञ्चालन गर्न लागेको हो । 

कम्पनीका सञ्चालक लक्ष्मण रिमालले स्थानीय तहलाई आधार बनाएर कता हो एप सार्वजनिक गरिएको बताए । उनले स्थानीय तहले आफ्नो पालिकामा रहेका घरमा नम्बर राख्न, क्यूआर कोड स्क्यान गरी विवरण लिन लगायतका धेरै काम गर्न सकिने बताए । 

kata ho (2)1707477341.jpg

‘हामीले यो एप स्थानीय तहलाई मुख्य फोकस गरेर ५ वर्षको अनुसन्धानपछि सार्वजनिक गरेका हौँ । यसमा पालिकाका घरमा नम्बर राख्न, घरमा रहेका व्यक्तिहरुको पहिचान गर्न, पालिकामा रहेका सार्वजनिक जग्गा तथा सम्पदाहरुको पहिचान तथा संरक्षण गर्न, फोहारमैलाको व्यवस्थापन गर्नदेखि कर तिरे नतिरेको विवरणसम्म हेर्न मिल्ने गरी तयार पारेका छौँ’, उनले भने, ‘विदेशी नागरिकका लागि अंग्रेजीमा समेत घर नम्बर राख्ने सुविधा सहित ५ मिनेटमै घर ठेगानाको प्लेट तयार  पार्न सकिन्छ ।’

उनले भाषा आयोगबाट स्वीकृत लिएर उक्त एपमा ४०० भिन्दा भिन्दै शव्द समावेश गरिएको भन्दै कुनै पनि ठाउँको नाम नदोहोरिने गरी तयार पारिएको बताए । 

kata ho (3)1707477345.jpg

यस प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर त्यहाँसम्म पुग्न सकिने जनाईएको छ । उक्त एप प्रयोग गर्दा कुनै पनि शुुल्क लाग्दैन भने डिजिटल घर नम्बर तयार पार्न केही न्यून शुुल्क तोकिएको जनाइएको छ । आफ्नो ठेगाना बनाउन र पत्ता लगाउन यो प्रणालीले अफलाइनमा समेत काम गर्न सकिनेछ । 

यस्ता छन् फाइदा

कम्पनीका अनुसार यो प्रणाली व्यक्ति, उद्यमी, डेलिभर कम्पनी, राइड शेयरिङ कम्पनी, आपतकालीन सेवा, सरकारी निकाय लगायत धेरैलाई उपयोगी हुन्छ । यो प्रणाली प्रयोग गर्दा निम्न फाइदा हुने कम्पनीले बताएको छः

  • ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने सरकारको ठूलो धनराशि बचत ।
  • बोलेर अरुसँग स्थान शेयर गर्न सकिने ।
  • आपतकालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने ।
  • घरको साथै देशको जुनसुकै ठाउँको डिजिटल ठेगाना तयार गर्न सकिने ।
  • ठेगाना पाटी (एड्रेस प्लेट)मा रहेको क्युआर कोडमार्फत घन्टी बजाउन सकिने ।
  • ठेगाना प्लेटमा अंग्रेजी अक्षर समेत प्रयोग भएकाले पथप्रदर्शक र पर्यटकले पनि प्रयोग गर्न सक्ने ।
  • सजिलो र छिटोछरितो रूपमा पालिकाहरुले आफ्ना क्षेत्रभित्रका घर तथा संरचनाको नक्सांकन गर्न सकिने ।
  • सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षण क्षेत्रहरु छुट्ट्याई अभिलेखन गर्न सकिने ।
  • जुनसुकै डिजिटल नक्सामा पनि प्रयोग गर्न सकिने ।
  • सरकारी तथा सबै प्रकारका ‘केवाईसी’ फारममा उल्लेख गर्न सकिने ठेगाना कोड तयार हुने ।
     
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update