Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगरकी मेयर रेनु दाहालले पाइन बेलायतको प्रतिष्ठित अवार्ड

काठमाडौँ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले बेलायतको प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छिन् । बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन जस्ता विश्वका चर्चित व्यक्तिहरुले पाउने सो अवार्ड नेपालबाट पहिलो पटक मेयर दाहालले पाएकी हुन् ।

मेयर दाहालले पोलिटिक एण्ड पब्लिक लाइफ अवार्ड २०२४ प्राप्त गरेकी हुन् । यसअघि सो अवार्ड बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन, लण्डनका मेयर सादिक खान, थेरसा मेलगायत संसारभरका ख्यातिप्राप्त नेताहरुले प्राप्त गर्ने गरेका थिए ।

सो अवार्डको लागि भरतपुर महानगरपालिका छनोट भएको भनेर केही समय अगाडि पत्र आएको मेयर दाहालले बताइन् । भरतपुर महानगरपालिकाले गरेका राम्रा कामको प्रचार प्रसार भएका कारण सो अवार्ड प्राप्त भएको उनको भनाइ छ ।

‘केही साताअघि नै सो अवार्डका लागि भरतपुर महानर छनोट भयो भनेर पत्र आएको थियो । ख्यातिप्राप्त अन्तराष्ट्रिय अवार्ड पाउन सफल भएकोमा भरतपुर महानगरका जनता, जनप्रतिनिधि, कर्मचारीलगायत सरोकारवाला सबै पक्ष बधाइका पात्र भएका छौं । मार्च ७ तारिकमा सो अवार्ड हामीलाई हस्तान्तरण गरिने भन्ने जानकारी प्राप्त भएको छ । अवार्ड लिनका लागि जाने कार्यक्रम बनाएका छौं,’ मेयर दाहालले वडापालिकासँग भनिन् ।

मेयर दाहाल सो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली नेता भएको बताइएको छ । 

आगामी मार्च ७ तारिक (फागुन २४ गते) बेलायतको सदन हाउस अफ कमन्समा त्यहाँका सभामुखले मेयर दाहाललाई सो अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ । 

यस वर्ष मेयर दाहालसँगै दुई अन्य देशका राष्ट्र प्रमुखहरु र बेलायत कै उपप्रधानमन्त्री पनि सम्मानित हुँदैछन् ।

अवार्ड लिनको लागि नेपालबाट मेयर दाहालसहित २ जना जाने कार्यक्रम तय भएको छ । मेयर दाहाल अवार्ड लिनको लागि जाने तय भएपनि अर्काे एक जना को जाने भन्ने निर्णय भने नगरकार्यपालिकाले गर्ने मेयर दाहालले जानकारी दिइन् ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update