Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ?

काठमाडौँ । कोशी प्रदेश अन्तरगतको इलाम जिल्लामा पर्ने रोङ गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अहिले २ हजार ४५० विद्यार्थी अध्ययनरत छन् । 

देशभरका सामुदायिक विद्यालयको स्तर खस्किएको भन्ने गुनासो बढिरहेको समयमा रोङ गाउँपालिका भने नयाँ अभियानमा छ । रोङ गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरु अहिले विद्यार्थीलाई मात्रै होइन, अभिभावकलाई पनि पढाइरहेका छन् ।

अभिभावक जिम्मेवार नभएसम्म शिक्षकले मात्रै पढाएको भरमा विद्यालय शिक्षाको गुणस्तर सुधार्न नसकिने निष्कर्ष निकालेर अभिभावकलाई महिनाको एक दिन विद्यालय आएर पढ्नै पर्ने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो बताउँछन् । सबै अभिभावकले महिनाको एक दिन विद्यालयमा गएर पढ्नै पर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

‘सबै अभिभावक महिनाको एक दिन विद्यालयमा गएर पढ्नै पर्छ । नपढे वडा कार्यालयबाट उनीहरुले पाउने सबै प्रकारका सेवा सुविधा रोकिन्छ । एक दिन जाने हो, गएको दिन ३ घण्टा पढ्ने हो । यसका लागि कार्यविधि बनाएका छौं । अभिभावक शिक्षा सहजीकरण पुस्तिका बनाएका छौं । तालिम दिएर २३ जना सहजकर्ता तयार पारेका छौं । अभिभावक जिम्मेवार नभएसम्म शिक्षकले पढाएको भरमा सामुदायिक विद्यालयको स्तर सुधार नहुने देखिएपछि यसो गर्न थालिएको हो,’ अध्यक्ष स्याङ्बोले वडापालिकासँग भने ।

अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि स्वीकृत गरिसकेको छ । शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारजस्ता विषयमा अभिभावकलाई जानकारी दिन अभिभावक शिक्षाको व्यवस्था गरिएको गाउँपालिकाको भनाइ छ ।

अभिभावकहरु पढ्नका लागि विद्यालय गएका दिन कक्षा ८ भन्दा माथिका विद्यार्थी भने घरमै बसेर काम गर्ने व्यवस्था मिलाइएको छ । कक्षा ८ भन्दा तलका विद्यार्थी भने अभिभावकसँगै विद्यालय जाने व्यवस्था मिलाइएको छ । सो गाउँपालिकामा माघ २६ गतेदेखि अभिभावक पढाउन सुरु गरिसकिएको अध्यक्ष स्याङ्बोले जानकारी दिए ।

सबै सामुदायिक विद्यालयमा अभिभावकलाई अनिवार्य रुपमा भर्ना गर्ने, उनीहरुको हाजिरी हेर्ने जस्ता कार्यको मनिटरिङ भने गाउँपालिकाले गर्नेछ । अभिभावकलाई दिने क्युआर कोडसहितको आइडी कार्डका सहायताले कुनै अभिभावक पढ्नको लागि आए नआएको सहजै थाहा हुने उनले बताए । 

गाउँपालिकाले सुरु गरेको अभिभावक शिक्षा कार्यक्रम अवदेखि निरन्तर संचालन हुने अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले तय गरेको पाठ्यक्रम अध्ययन पूरा भएपछि पुनर्ताजगी कक्षा संचालन गरिने उनले जानकारी दिए । 

यसअघि नै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ । प्रत्येक शिक्षकले अनिवार्य कम्प्युटर चलाउन जान्नुपर्ने भन्दै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराएको हो ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update