Odapalika - The Fourth Estate - चौथो अंग
अन्तरपालिका भलिबल प्रतियोगिताः दमक र षडानन्द बिजयी 

काठमाडौँ । कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् ।

‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा सञ्चालित प्रतियोगिताको  प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम सेटमा दमक र षडानन्दले १७–१७ अंक बनाए । 

बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अंक दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए ।

विवादका कारण समय अभाव भएपछि सहमतिमा दुवै टिमलाई संयुक्तरूपमा विजयी घोषित गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

दुवै पालिका विजयी भएपछि विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ पाउने भए पनि दुवै टिमलाई विजेता बनाइएपछि १ लाख २५ हजारका दरले नगदसहित मेडल तथा प्रमाणपत्र वितरण गरिएको हो ।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट ६ वटा विधामा खेलाडीले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

विजेतालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सभासदस्य राजेन्द्रकुमार राईलगायतले पुस्कार वितरण गरे । प्रतियोगितामा दमक, षडानन्द, बेलवारी, भोजपुर नगरपालिका र रामप्रसाद राई, टेम्केमैयुङ, आमचोक, साल्पासिलिछो गाउँपालिकाकासहितका ८ वटा टिमले सहभागिता जनाए ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update