Odapalika - The Fourth Estate - चौथो अंग
योजनाको भुक्तानी वडाबाटै दिन थाले स्थानीय सरकार 

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले वडाका कार्यक्रम योजनाको भुक्तानी वडाकार्यालयबाटै दिन सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलोपटक वडा कार्यालयहरूलाई आर्थिक अधिकार दिएर वडाका कार्यक्रम योजनाको भुक्तानी वडा कार्यालयबाटै दिन थालेको हो ।

उपमहानगरपालिकाले वडा नम्बर १ को कार्यालयलाई कार्यक्रमको भुक्तानीको अधिकार दिइएको छ । वडाध्यक्ष सन्तोष मुडभरीले १९ वटै वडाका कार्यक्रमको भुक्तानी अब वडा कार्यालयबाटै हुने गरेर अधिकार प्रत्यायोजन गरिएको बताए । संघीयताको मुल भावना अनुसार वडामा आर्थिक अधिकार प्राप्त भएको उनले बताए ।

ग्रामीण क्षेत्रका नागरिकको सुविधाका लागि वडाबाट भुक्तानी दिन थालिएको नगर प्रमुख गोपाल हमालले बताए । उनले सेवा विकेन्द्रीकरण गरेको भन्दै यसले भुक्तानीका लागि उपमहानगरपालिका आउनुपर्ने बाध्यता हटेको बताए । 

धनगढी उपमहानगरपालिकाका एक वडामा २५ देखि ३० वटासम्म  योजनाहरू छन् । वडाबाट कार्यान्वयन हुने योजनाको भुक्तानीसमेत उपमहानगरपालिकाबाट हुदै आएको छ ।

उपमहानगरपालिकाको कार्यालयबाट टाढाका बस्तीबाट आएका सेवाग्राहीलेसमेत प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नभएको समयमा सेवा नपाउने अवस्था थियो । तर, वडामै आर्थिक अधिकार गएपछि सेवाग्राहीलाई सहज हुने विश्वास धनगढी उपमहानगरपालिकाको छ ।

धनगढी उपमहानगरपालिकाले लेखाका कर्मचारी वडामा खटाउने छ भने, वडा सचिवहरूलाई अधिकार दिइएको छ । धनगढी उपमहानगरपालिकाले योजनाको रकम भुक्तानीका लागि आवश्यक उपकरणसमेत सहयोग गर्दै आएको जनाएकाे छ । वडाका कार्यक्रमको अनुगमन भने नगर उपप्रमुख कन्दकला कुमारी राना संयोजक रहेको टिमले गर्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update