Odapalika - The Fourth Estate - चौथो अंग
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा

काठमाडौँ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा सुरु गरेको छ । पालिकाको वडा नम्बर ६ नर्जाखानीका विद्यार्थीलाई विद्यालय जान असहज भएपछि पालिकाले विद्यालयमै आवाासीय सुविधा सुरु गरेको हो । 

नर्जाखानीका विद्याथी पढ्नकै लागि दैनिक ६ घण्टाभन्दा बढी हिड्नुपर्ने बाध्यता थियो । तर नगरपालिकाले उक्त व्यवस्था गरेपछि दैनिक हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

नर्जाखानी, पात्ले र भित्रीवन गाउँबाटका विद्यार्थी विद्यालय जानकै लागि दैनिक छ घण्टा हिँडेर वडा नं ५ मा रहेको शान्ति माध्यमिक विद्यालयमा जाने गरेका थिए । 

गत पुस १ गतेदेखि कक्षा १० मा पढ्ने विद्यार्थीका लागि गाउँपालिकाले विद्यालयमै ‘होस्टेल’ स्थापना गरेर एसइई दिँदासम्मका लागि आवासीय सुविधा दिन थालेको विद्यालयमा प्रधानाध्यापक सत्यनाराण सिंहले जानकारी दिए । 

विद्यालयमा रहेको छात्रावास सञ्चालनका लागि गाउँपालिकाले वार्षिक १ लाख रुपैयाँ विनियोजन गर्दै आएको छ । उक्त रकमबाट विद्यालयले तीन महिना छात्रावासमा राखेर पढाउने निर्णय गरेको हो । 

विद्यालयका प्रधानाध्यापक सिंहले विद्यार्थीको नतिजामा सुधार आउने अपेक्षा गरेर राखिएको बताए ।  

नर्जाखानीबाट कक्षा ९ र १० मा अध्ययन गर्न खुङ्खानी आउनुपर्छ । नर्जाखानीबाट पढ्न आउने ललिता छन्त्यालले छात्रवासमा बसेर पढ्न थालेपछि धेरै सहज भएको बताईन । कक्षा नौदेखि दैनिक छ घण्टा हिँड्नुपरेको भन्दै उनले अहिले विद्यालयमा बसेर पढ्न पाउँदा एसइई परीक्षामा राम्रो अङ्क लिएर पास हुने अपेक्षा रहेको बताईन । 

पात्लेगाउँका रुपक घर्ती मगर पनि अहिले विद्यालयकै छात्रवासमा बसेर अध्ययन गरिरहेका छन् । नर्जाखानीको विद्यालयबाट आठ कक्षा पास गरेर शान्ति माविमा आउनुभएका घर्तीले डेढ वर्ष निकै कष्टपूर्ण तरिकाले विद्यालय आउजाउ गरेको उनीसँग अनुभव छ । 

यस वर्ष शान्ति माविबाट ४० जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । त्यसमध्ये ३७ जनाले हाल छात्रवासमा बसेर पढाइ गरिरहेका विद्यालयले जनाएको छ ।

टाढाका विद्यार्थीको सहजताका लागि गाउँपालिकाले केही समयका लागि भए पनि आवासीय सुविधा दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । 

अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए । भौतिक संरचनाको व्यवस्थापनसँगै शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाले प्रयास गरिरहेको उनको भनाई छ ।  

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update