Odapalika - The Fourth Estate - चौथो अंग
फागुनका लागि बैंकले घटाए ब्याजदर, अब कुन बैंकमा कति ?

काठमाडौँ । फागुन महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुुसार माघको तुुलनामा फागुनमा ब्याजदर घटाइएको हो ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनमा पनि निरन्तरता दिएका छन् । ४ वाणिज्य बैंकले माघको ब्याजदरलाई निरन्तरता दिएपछि बाँकी रहेका १६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।

हिमालयन बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् ।

लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ०.६ प्रतिशत घटाएर ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यी बैंकले माघमा पनि सोही ब्याजदर लागू गरेका थिए ।

ग्लोबल आइएमई बैंकले ०.५ प्रतिशत घटाएर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्राइम बैंकको ०.६९ प्रतिशत घटेर संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबिआई बैंकले ०.१५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको हो । कुमारी बैंकले ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एनएमबि बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंकले ०.५६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.६० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले ०.६४ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एनआईसी एशिया बैंकले ०.०६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नबिल बैंकले ०.३६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.७२ प्रतिशत घटाएर ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ०.७२ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ १.२५ प्रतिशत घटाएर ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कृषि विकास बैंकको संस्थागततर्फ १.३१७ प्रतिशत घटेर ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ०.८१ प्रतिशत घटेर ६.४४३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update