Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिबासमा खानेपानीको हाहाकार 

महोत्तरी । बर्दिबासका स्थानीयले खानेपानीको अभाव बेहोर्दै आएका छन् । घर नजिकका पानीका स्रोत सुकेपछि उनीहरू १ किलोमिटर हिँडेर पानी ओसानर् बाध्य छन् । पानीको स्रोत सुक्दा स्थानीयलाई सिँचाइका लागि समेत समस्या भएको छ । 
घर नजिकैको इनार सुकेपछि खानेपानी लिन १ किलोमिटर हिँड्नुपरेको स्थानीय किसुनदेव महतोले बताए । ‘इनारको भरमा खेतीपातीसमेत हुँदै आएको थियो । अहिले त खानेपानीसमेत छैन,’ उनले भने ।
झन्डै ६ हजार जनसंख्या भएको पशुपतिनगरमा १५० हाराहारी इनार छन् । तर, लामो समयसम्म खडेरी पर्दा आधाभन्दा बढी इनारमा पानी छैन । पानीको सहजताको नारा लिएर चुनावमा उठेकाहरूले हाल बेवास्ता गरेको महतोको गुनासो छ । ‘पानी खुवाउने विषयलाई नै एजेन्डा बनाएर चुनाव जितेका जनप्रतिनिधिको कार्यकाल पनि १ वर्ष पुग्न लाग्यो । तर, खानेपानी खुवाउने योजना उनीहरूले भुले,’ महतोले पीडा पोखे । 
किसुनदेव महतोको जस्तै यतिबेला पशुपतिनगरका धेरै स्थानीयलाई पानी कता पाइन्छ भन्ने चिन्ता थपिँदै गएको छ । खानेपानीको मुख्य आधार इनार धमाधम सुक्दासमेत विकल्पको खोजी नहुँदा स्थानीय आत्तिन थालेका छन् ।
राख्याल टोलको इनारबाट पानी ल्याउने माध्यम हुँदा समेत जप्रतिनिधिले बेवास्ता गरेको स्थानीको गुनासो छ । पशुपतिनगरको बजरंग जल उपभोक्ता समितिले सञ्चालन गरेको इनारमा मात्रै पानी प्रशस्त छ । अन्य ठाउँका बासिन्दा त्यहाँ पुग्न करिब ३ किलोमिटरको दुरी पार गर्नुपर्छ । खेतीपातीमा नै आश्रितहरू सिँचाइको समस्याका कारण थप चिन्तित छन् । ‘खेतीपाती गर्‍यो सिँचाइ छैन, बडो समस्या पर्ने भयो,’ देवसिंहले भने ।
साविकको वडा-४ मा रहेको इनारबाट पानी ल्याउने योजना विगत १० वर्षदेखि अलपत्र छ । पानी भण्डारणका लागि निर्मित ट्यांकी बिग्रिन थालेको स्थानीयको भनाइ छ । बोरिङका ४ वटा योजनासमेत अलपत्र छन् । 
अघिल्लो कार्यकालका नगर प्रमुख विदुर कार्कीले घर-घरमा पानी पुर्‍याउने उद्देश्यले २८ लाख रुपैयाँ विनियोजन गरे पनि आयोजना निर्माणमा रकम खर्च नभएको स्थानीयको दाबी छ । ‘लाखौँ रकम कहाँ गयो थाहा पाउन सकिएन,’ सिंहले भने । पानीको हाहाकार हुँदा दैनिकी नै अत्यासलाग्दो भएको स्थानीय भोगेन्द्र सिंहले बताए । ‘नुहाउनका लागि समेत पानी छैन । हामीलाई कति गाह्रो भएको होला,’ उनी भन्छन् । 
वडाध्यक्ष घुरन महतोले खानेपानीको समस्या अब छिट्टै समाधान हुने बताएका छन् । ‘अलिकति पाइपमा त्रुटि हुँदा पुर्‍याउन सकिएको छैन, तर अब चाँडै समस्या समाधान हुन्छ,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update