Odapalika - The Fourth Estate - चौथो अंग
दुर्घटनामा परेको ट्रकमा आगो लगाएको भन्दै ट्रक व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग 

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार रानी भन्सारतर्फ गइरहेको समयमा बिराटनगर महानगरपालिका वडा नं। ५ बरगाछीमा बा.प्र.३–००१ ख नम्बरको मालवाहक ट्रक, को ३६ प २८८९ नम्बरको स्कुटरसँग ठोक्किदा स्कुटर चालकको मृत्यु भएको थियो । 

सो घटनामा उत्तेजित भीडले ट्रकमा आगजनी गरेको र ट्रक जलेर पूर्ण रुपमा क्षति भएको भन्दै महासंघले आपत्ति जनाएको हो । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र घाइतेको उपचारका लागि अस्पताल लगिरहेको अवस्थामा ट्रकमा आगजनी गरिएको भन्दै महासंघले भत्र्सना समेत गरेको छ ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सडक दुर्घटना अप्रत्यासित र काबु बाहिरको परिस्थितिमा हुने भन्दै भीडले दुर्घटनामा परेका पीडितहरुको उद्दार गर्न छाडेर अर्को दुर्घटना गरेको भन्दै ती व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । साथै क्षति भएको ट्रकको बिगो समेत आगजनीमा संलग्न व्यक्तिहरुबाटै असुल उपर गराउन समेत माग गरिएको छ । 

नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम वानियाँले सडकमा यस्ता अराजक गतिवधि नरोकिए र यस्ता घटनाहरुलाई नजर अन्दाज गरिए महासंघ बिरोधका कार्यक्रम गर्न बाध्य हुने बताए । 

उनले आफुहरुको मागलाई वेवास्ता गरिए महासंघले सशक्त विरोध गर्दै ढुवानीको सवारी साधनहरु घर तथा ग्यारेजमा थन्क्याउन बाध्य हुने चेतावनी समेत दिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update