Odapalika - The Fourth Estate - चौथो अंग
क्यान इन्फोटेकमा काठमाडौँ महानगरका १५ आइडिया

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ का उत्कृष्ट १५ सोचलाई कम्प्युटर एशोसिएसन (क्यान) ले आयोजना गरेको सञ्चार तथा प्रविधि प्रदर्शनीमा सहभागी गराएको छ । 

सहभागी सोचहरुमा एक पटक केवाइसी (नो योर क्लाइन्ट) भरे पछि अन्यत्र त्यसैले काम गर्ने, सहरी सेवा प्रदायकहरुलाई एकै ठाउँमा खोज्न पाइने, पुनप्रयोग गरिने बस्तु, कपडा तथा अन्य सामग्रीबाट पुनःप्रयोगका सामान बनाउने, स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थलाई विक्री योग्य उत्पादन बनाउने खालका प्रविधिमा आधारित सोच र उद्यम थिए ।

प्रदर्शनीमा करिब १५० स्टल राखिएका थिए । ती स्टलमा प्रविधिका बढ्दो विकाससँगै बजारमा आएका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स सामान तथा यससँग सम्बन्धित प्रविधिको प्रदर्शन गरिएको थियो । कम्प्युटर, प्रिन्टर, कम्प्युटर एसेसरिज, सफ्टवेयरहरु, सुरक्षा प्रणाली सहित नवप्रवर्तनमा आधारित वस्तु तथा सामग्री प्रदर्शनीमा राखिएका थिए । 

प्रदर्शनीको अवलोकन गर्दै प्रवक्ता नविन मानन्धरले भने, ‘हाम्रा दैनिक क्रियाकलाप प्रविधिमा आधारित भइसकेका छन् । उद्यम पनि अव प्रविधिमा आधारित नभइ सुखै छैन । यसकारण हामीले प्रविधिमा आधारित उद्यमलाई प्रबर्धन गरेका हौँ ।’ 

असोज ३० गते राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी गरिसकेको छ । स्टलहरुबाट दैनिक ६० हजार रुपैयाँसम्मको व्यापार भएको छ । यो सुखद सुरुवात हो ।’ 

के हो, काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन

आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी व्यवसायीको  सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ । नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।

सहरमा भएका समस्याहरुलाई प्रविधिको प्रयोग गरेर समाधानका उपाय निकाल्ने, स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विक्री योग्य उत्पादन गर्ने र ती उपाय तथा योजनालाई उद्यमका रुपमा विकास गर्न सकिने सोच आइडिया एण्ड इनोभेसनमा छनोट भएका छन् । 

यस्ता सोच भएका उद्यम सम्बन्धी सोचलाई लगानीकर्तासँग अन्तरक्रिया गराएर सोचलाई उद्यमका रुपमा विकास गराउन महानगरपालिकाले नेतृत्व गरिरहेको छ । 

यस्ता सोच सम्बन्धी आवेदन दिन २०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरिएको थियो । यस सूचनाबाट जेठ १९ गतेसम्म आवेदन दिन समय तोकिएको थियो । यस अवधिमा प्रस्ताव पठाउन नसकेका तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिनको समय थप गरेर २९ गतेसम्म पु¥याइयो । यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए ।  

यी व्यक्ति तथा समूहबाट असार महिनामा दोस्रो चरणका लागि अन्तिम ५० समूह छनौट गरियो । ३ दिन चलेको सोच प्रस्तुतिमा सोकर्तालाई निर्णायक समक्ष सोच, यससँग प्रविधि र साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायत विषय प्रस्तुतिकरण गर्न लगाइएको थियो । ५ मिनेटको प्रस्तुतिपछि निर्णायकहरुले सोधेका प्रश्नहरुको जवाफ लिइएको थियो । 

यसपछि असोज महिनामा उत्कृट ५० काबीचमा बजारीकरण प्रदर्शनी गराइएको थियो । सोच र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्र्याकमा), सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइएको थियो । यसरी अन्तरक्रिया गराउनु ‘स्पीड डेटिङ्’ विधि हो । यो विधिलाई ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ । 


 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update