Odapalika - The Fourth Estate - चौथो अंग
सकियाे ५ दिने क्यान इन्फोटेक मेला, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत बिहिबार एक विशेष समारोहमाझ २९औं संस्करणको क्यान इन्फोटेक २०२४ समुद्घाटन गरेकी थिइन् । सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरूसहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पाँच दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधि प्रेमीले अवलोकन गरेका थिए ।

सोमबार ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ को अन्तिम दिन प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र,  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मिस नेपाल २०२३ श्रीच्छा प्रधान, मिस नेपाल २०१९ एवं काठमाण्डौं महानगरपालिकाका सिटी ब्रान्डिङ एडवाइजर अनुष्का श्रेष्ठ लगायतका विशिष्ट अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरेका थिए ।

29th edition of CAN Info-Tech 20241707801398.jpeg

इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

यस पटकको इन्फोटेकमा नेपाली युवाका नवीनतम सोच, उत्पादन तथा समाधानलाई प्राथमिकता देखिएको बताउँदै महासचिव अधिकारीले डिजिटल साक्षरता, ब्लकचेन प्रविधि, एआई, साइबर सुरक्षा लगायतका पक्षमा नेपालको सूचना प्रविधि क्षेत्रलाई तयार पार्न सहयोग पुगेको भनाइ राखे । 

प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या उल्लेख्य रहेको थियो । आयोजकले यस्ता सोच तथा आविष्कारलाई प्रश्रय दिन निःशुल्क स्टलको व्यवस्था गरेको थियो ।

यस संस्करणको इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update