Odapalika - The Fourth Estate - चौथो अंग
पिकअपमा विद्यार्थी ओसार्छ गलकोट नगरपालिका 

बागलुङ । गलकोट नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थी बोक्न घरघरसम्म गाडी सुविधा दिन थालेको छ । 

विद्यार्थी संख्या कम भएको भन्दै गतवर्ष पालिकाले विद्यालय समायोजन गरेको थियो । समायोजनपछि कतिपय विद्यार्थीलाई विद्यालय पुग्न धेरै हिड्नुपर्ने भएपछि पालिकाले नै सवारी साधनको व्यवस्थापन गरेको हो । 

दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमै विद्यालय पुग्ने र घर फर्कन थालेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन् । यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लसम्म पुग्नुपर्ने अवस्था छ । 

अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् । नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकामा विद्यालय जाने रुचि बढेको स्थानीयवासीको पनि अनुभव छ । 

गलकोट नगरपालिकाले यस वर्ष ५ वटा विद्यालय तह मिलान र ५ वटा विद्यालय समायोजन गरेको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वयन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको पालिकालको भनाइ छ । 

यातायातको सुविधा दिन नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । नतिजा सुधारका लागि यस वर्षदेखि कक्षा ८ र १० को अर्धवार्षिक परीक्षासमेत नगरपालिकाले लिने भएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update