Odapalika - The Fourth Estate - चौथो अंग
४४ विद्यालयलाई समेटेर लोक नृत्य प्रतियोगिता गर्दै बुटवल उपमहानगर, पुरस्कार १ लाख

काठमाडौँ । बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन १ र २ गते बुटवल उपमहानगरपालिकाको परिसरमा अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले विद्यार्थीहरुमा हरेक खालको क्षमता विकासका लागि बुटवलले खेलकुद र सांस्कृतिक कार्यक्रम र अन्य शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

समाजको सांस्कृतिक सम्पत्तिको रुपमा रहेका लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोकसंस्कृतिको जानकारी दिन लोकनृत्य प्रतियोगिता गर्न लागिएको लोकनृत्य प्रतियोगिता संयोजक तथा बुटवल उपमहानगरपालिका–१३ का अध्यक्ष नारायण पुनले बताए ।

उनका अनुसार प्रतियोगितामा एउटा विद्यालयबाट एक समुहले मात्र भाग लिन पाउनेछन् । उपमहानगर भित्रका ४४ विद्यालयले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने वडाध्यक्ष पुनले जानकारी दिए । त्यस्तै, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ । 

यस्तै उपबिजेता नवीन औद्योगिक माविले ६० हजार पाउँदा सेमीफाइनलमा पुग्ने उजिरसिंह मावि र एभरेष्ट माविले १८–१८ हजारका दरले पुरस्कार पाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार अक्सफोर्ड माविका टीम क्याप्टेन सुजलमान घले, उत्कृष्ट गोलकिपर अक्सफोर्डकै डेभिड थापा, उत्कृष्ट मिडफिल्डर अक्सफोर्डकै रमित नाम्जाली मगर र सर्वाधिक गोलकर्ताको पुरस्कार अक्सफोर्डकै अस्मित शर्माले पाएका छन् ।

butwal1707802111.JPG

यस्तै उत्कृष्ट डिफेन्डरको पुरस्कार नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्डको पुरस्कार नवीनकै विजन सुर्यवंशीले पाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाएका छन् ।

बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कार प्रदानपछि बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलमा खेलाडी उत्पादनका लागि पहिलोपटक आयोजना गरिएको विद्यालयस्तरीय फुटबल प्रतियोगिताले उत्साह बढाएको र आगामी दिनमा थप खेल प्रतियोगिता आयोजना गर्ने बताए । उनले विद्यालयहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद र अन्य विभिन्न प्रतियोगिताहरु तथा क्षमता विकासका कार्यक्रम समेटेको बताए ।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update