काठमाडौँ । अध्यागमन विभागले मंगलबारदेखि सेवा अबधि बढाएको छ । यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सेवा दिदैँ आएको विभागले आजदेखि सेवा अवधिको समय बढाएर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म बनाईएको हो ।
विभागले सातै दिन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नै सेवा सुचारु हुने जनाएको छ । यसअघि शनिबार र सार्वजनिक बिदाको समयमा कार्यालय बन्द हुँदै आएको थियो ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङले विदेशमा रहेका सेवाग्राहीलाई लक्षित गर्दै सेवाअबधि थप गरिएको बताए ।
विभागले एक सूचना जारी गर्दै सेवा अबधि थप गरिएको जनाएको छ । विभागका निर्देशक रेवती रमण शर्माको हस्ताक्षर रहेको सूचना अनुसार बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिनेछ ।
थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृति, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुनेछ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।