Odapalika - The Fourth Estate - चौथो अंग
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर ढुवानीमा रोक लगाएको छ । महानगरले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो । 

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो ।

‘अरुलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैँले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट््याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो । यो गलत प्रक्रिया हो ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्नु हुँदैन । यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरुले आफूलाई स्वच्छ र स्वस्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनु पर्छ’, उनले भनिन । 

anugaman1707811476.jpg

अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ । 

आज नै महाराजगञ्जमा भएको इन्टरनेशनल फ्रेन्डसिप चिल्ड्रेन हस्पिटलको अनुगमन भएको छ । अस्पतालले स्रोतमा फोहोर वर्गीकरण गर्ने अभ्यास व्यवस्थित गरेको पाइयो । स्रोतबाट संकलन भएको फोहोर प्रशोधन कक्षमा पुगेपछि एकै ठाउँमा हुने गरेको देखियो । हानीकारक फोहोर निर्मलीकरणका लागि राखिएको अटोक्लेभ मेसिन सञ्चालन भएको देखिएन । मेसिनमाथि धुलो जमेको थियो । 

यसपछि फोहोर संकलन गर्ने स्थान पनि व्यवस्थित थिएन । यसरी हेर्दा स्रोत फोहोर वर्गीकरण राम्रो भए पनि नतिजा राम्रो थिएन ।

अनुगमन टोलीले अस्पताललाई वर्गीकरण भएको फोहोर प्रकृतिअनुसार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update