Odapalika - The Fourth Estate - चौथो अंग
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने 

काठमाडौँ । तत्कालीन नेकपा माओवादीको १० वर्ष लामो शसस्त्र बिद्रोह सुरु भएको दिन १ फागुन (२०५२) मा जनयुद्ध दिवस मनाउन भन्दे स्थानीय तहहरुले दिएको सार्वजनिक बिदाका विषयमा एमाले पार्टी पंक्तिभित्र २ धार देखिएको छ । 

एमालेका संघीय उपाध्यक्ष रामबहादुर थापा बादलले जनयुद्ध दिवसको शुभकामना दिएलगत्तै पार्टीका पालिका कमिटीका अध्यक्षहरुले बिदा दिने निर्णयको चर्को विरोध गर्दै अदालतको मानहानीमा मुद्दा हाल्नेसम्मको चेतावनी दिएका छन् । 

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै बादलले जनयुद्ध र जनआन्दोलनमा मृत्यु भएका शहीदहरूको स्मरण गर्दै शहीद, बेपत्ता र घाइते परिवारको योगदानको कदर भएको बताएका छन् । 

उनले लेखेका छन्, ‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान् शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।  बेपत्ता तथा घाइते  योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

आफ्ना उपाध्यक्षले जनयुद्ध दिवसलाई बैधानिकता दिएपनि एमालेले संस्थागत रुपमा जनयुद्धलाई राजनीतिक मान्यता दिएको छैन । उपाध्यक्ष बादलले जनयुद्ध दिवसलाई मान्यता दिदै शुभकामना दिएपनि उदयपुरका ३ वटा स्थानीय तहका पार्टी अध्यक्षहरुले सार्वजनिक बिदा दिने पालिकाको निर्णयलाई चुनौती दिएका छन् । 

संयुक्त विज्ञप्तिमार्फत एमालेको रौतामाइ गाउँपालिका, लिम्चुङवुङ गाउँपालिका र ताप्ली गाउँपालिकाका गाउँ कमिटी अध्यक्षहरुले पालिकामा बिदा दिने निर्णयको विरोध गरेका छन् । 

उनीहरुले सर्वोच्च अदालतको फैसला, गृह मन्त्रालयको परिपत्र र विद्यमान संवैधानिक तथा कानुनी प्रावधान विपरित जनयुद्ध दिवसमा आफ्ना पालिकामा सार्वजनिक बिदा दिएको भन्दै अदालतको मानहानीको कारवाही अघि वढाउन सक्ने चेतावनी दिएका छन् ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति 

3e2fc931-5073-47dc-9b4d-e467bbefc12f1707818041.jpg

उता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले दिएको सार्वजनिक बिदालाई चुनौती दिदै माओवादी बाहेकका दलबाट जितेका वडा अध्यक्षहरुले बिदा बहिष्कार गरेका छन् । 

नगरका १४ मध्ये ८ वटा वडा कार्यालय खोलेर उनीहरुले मेयरको कदमको विरोध गरेका छन् । ८ वटा वडा कार्यालयले कार्यालय खोलेर सेवा दिइरहेका छन् भने अन्य वडामा बिदा छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update