Odapalika - The Fourth Estate - चौथो अंग

हामी निर्वाचित भएपछिको दोस्रो आर्थिक वर्षमा छौँ । पहिलो आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकताका साथ नगरसभामा राखेर थियौं ।

हाम्रो नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालयहरु छन् । यी विद्यालयहरुको भौतिक अवस्थादेखि शैक्षिक अवस्थासम्म एकदमै नाजुक थियो । पहिलो आर्थिक वर्षमा ३२ वटा विद्यालयमध्ये हामीले १४ वटा विद्यालयमा भौतिक संरचना निर्माणको काम सुरु गरेका थियौं । त्यहाँ स्तरीय तरिकाले निर्माणको काम सञ्चालनमा रहेको छ भने धेरैमा सम्पन्न पनि भैसकेको अवस्था छ । 

अन्य विद्यालयहरुमा शैक्षिकस्तर उकास्न, बालबालिकाहरुको शैक्षिक क्रियाकलापदेखि विभिन्न शैक्षिक सामग्रीहरु विद्यालयमा पुर्याउने काम गरेका छौँ । यो शिक्षा क्षेत्रको कुरा भयो ।

स्वास्थ्य क्षेत्रको कुरा गर्दा नगर अस्पतालहरुलाई व्यवस्थित तरिकाले सञ्चालनमा ल्याएका छौँ । अतिआवश्य (इमर्जेेन्सी) सहितको वर्थिङ सेन्टर सेवा सहितको नगर अस्पताल व्यवस्थित तरिकाले सञ्चालित छन् । 

कृषि क्षेत्रको कुरा गर्दा तराईमा सबैभन्दा बढी सिँचाई सुविधा हुनुपर्ने हो । हाम्रो नगरपालिकामा लगभग ८० प्रतिशतभन्दा बढी मानिसहरु कृषि पेशामा नै आश्रित छन् । बलरा नगरपालिकामा संचालित सुदामा सिँचाई सेवाले किसानलाई राहत दिएको छ । सुदामा सिँचाई सेवाले नगरपालिकाको ७ वटा वडाका किसानलाई निःशुल्क सेवा दिएको छ ।

जहाँ सुदामा सिँचाइको पहुँच छैन, त्यो क्षेत्रमा पालिकाको लगानीमा स्यालो ट्युवेलट जडान गरेर मोटर र पम्पसेट वितरण गरी कृषि सिँचाई गर्न किसानलाई दिएका छौँ । 

अर्काे कुरा, गुणस्तरीय बिउविजन नहुँदा कृषि खेती गर्न गाह्रो भएको छ । हामीले स्तरीय र गुणस्तरयुक्त धान र गहुँको बिउ पनि सुलभ तरिकाबाट अनुदानमा उपलब्ध गराएका छौँ । 

शिक्षाको क्षेत्रबाट हेर्दा सर्लाही र रौतहट जिल्ला मधेश प्रदेशमै पछि परेका जिल्ला हुन् । त्यसमा पनि हाम्रो बलरा नगरपालिका जिल्लाकै दुर्गम नगरपालिका हो । सबै स्रोतबाट एकदमै अप्ठ्यारो अवस्थामा छौँ हामी । 

यहाँका स्थानीयको जिवनस्तर उकास्न हामीले विभिन्न किसिमका सामाजिक विकास कार्यक्रमहरु ल्याएका छौँ । अहिले बढीभन्दा बढी युवाहरु कुलतमा फस्ने र फसिसकेकाको कसरी उद्दार गर्नेतर्फ हाम्रो ध्यान केन्द्रीत छ । 

बोर्डर क्षेत्र भएकाले लागु औषत नियन्त्रणमा पनि हामीले काम गरेका छौँ । महिलाहरुको सशक्तिकरणमा पनि हामीले काम गरिरहेका छौँ । यहाँका महिलाहरु अहिले पनि देशको मुल धारमा आउनुपर्ने हो, त्यो अवस्थामा छैन । 

हाम्रो पालिकामा एकदमै डरलाग्दो अवस्थामा बालबिवाह छ । त्यसलाई नियन्त्रण गर्न हामीले विशेष अभियान नै सञ्चालन गरेका छौँ । हामीले जनचेतामूलक कार्यक्रम, घरदैलो अभियान, उमेर पुगेर बिहे गर्नेहरुका लागि प्रोत्साहन समेत ल्याएका छौँ । 

हामीले सामाजिक सुरक्षामा भत्ता वितरणमा केही  सहज बनाएका छौँ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकाभन्दा १२ किलोमिटर टाढा रहेको बैंकबाट वितरण हुनेगरेको  थियो । म आएदेखि त्यसलाई सहज बनाउन वडा वडामा नै पुगेर बैंकले वितरण गर्ने वातावरण बनाएको छु । 

सामाजिक सुरक्षा भत्ता लिनकै लागि १२ किलोमिटर टाढा जानुपर्दैन, अहिले प्रत्येक वडामा बैंक नै पुगेर वितरण गर्ने गरेको छ । 

हामीले युवालाई स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरेर रोजगारी दिएका छौँ । साना व्यवसाय गर्ने युवालाई केही सामग्री वितरण गरेका छौँ भने व्यापार गर्न थोरै भएपनि आर्थिक सहयोग र अनुदान समेत दिएका छौँ । 

चालू आर्थिक वर्षमा पनि बलरा नगरपालिकाले  शिक्षा स्वास्थ्य र कृषिलाई नै फोकस गरेर कार्यक्रम ल्याएको छ । 

शिक्षाको क्षेत्रमा हामीले अहिले भौतिक संरचना विस्तारमा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिएका छौँ । जसमा शिक्षकहरुको तालिम, विषयगत शिक्षकहरुलाई क्षमतायोग्य बनाउने तालिमको व्यवस्था गरेर पालिकाको शैक्षिक स्तर उकास्न हामी प्रयासरत छौँ । 

स्वास्थ्य सेवाको क्षेत्रमा पनि हामीले केही नयाँ गर्ने प्रयास गरेका छौँ । अहिले पालिकाभित्र २ वटा वर्थिङ सेन्टर सञ्चालनमा छन् । त्यसमा एम्बुलेन्स राखेर  वर्थिङ सेन्टरमा निःशुल्क रुपमा गर्भवतीलाई पुर्याउने गरेका छौँ । २ वटा वर्थिङ सेन्टरलाई व्यवस्थित गर्न आवश्यक उपकरणदेखि सामग्रीहरु समेत दिएका छौँ । 

हामीले नगरपालिकाकै लगानीमा नगर अस्पतालाई थप २ वटा एमबीबीएस डाक्टर राखेर २४ सै घण्टाको इमर्जेन्सी सेवा यसपालिदेखि सुरु गरेका छौँ । सबै वडाहरुमा हामीले यसै आर्थिक वर्षदेखि टोल टोलमा पुगेर घुम्ती सेवा समेत सुरु गरेका छौँ । 

७० वर्षभन्दा बढी माथिका जेष्ठ नागरिकको नियमित चेकजाँच गरी उहाँहरुको स्वास्थ्य स्थितिको आधारमा हामीले स्वास्थ्य सेवाहरु दिइराखेका छौँ । 

(मधेश प्रदेश अन्तरगतको सर्लाही जिल्लामा पर्ने बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहसँग गरिएको भिडियो कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update