Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले सुरु गरेको स्वास्थ्य बीमाको सुविधा यल स्वास्थ्य सेवा केन्द्रबाट पाइने

ललितपुर । ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत मंगलबारबाट स्वास्थ्य सेवा सुरु गरेको छ । 

महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को संचालन र व्यवस्थापनमा स्वास्थ्य सेवा सुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिन्छ । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले  स्वास्थ्य बीमा महानगरले नगरबासीलाई दिएको उपहार भएको बताए । केन्द्रको उद्घाटन गर्दै उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यबाट महानगरबासीले उत्कृष्ट सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

‘पाटन अस्पतालसँगको सहकार्यले कोभिडको समयमा उत्कृष्ट काम गर्न सक्यौँ, अब मुलुकै लागि उदाहरणीय बन्ने गरी स्वास्थ बीमामार्फत उपचार सेवाको काम अगाडि बढेको छ,’ मेयर महर्जनले भने ।

महानगरले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे । महानगरमा स्वास्थ्य बीमा कार्यक्रम केही ढिला भएपनि ढिला भएको अनुभूति नहुने गरी सेवा प्रवाह हुने दाबी गरे । उनले केन्द्रमा जनशक्तिदेखि उपकरणसम्म कुनै क्षेत्रमा कमी कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेशलाल गंगोलले स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्रवाह हुने सेवाले नागरिकको खर्च घटाउन र रोगका कारणले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य गर्न सहयोग गर्ने बताए। उनले बीमा कार्यक्रम मार्फत प्रवाह हुने सेवामा नगरवासीलाई निराश हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाए ।

बीमा बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलाले २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशका सात सय ५३ वटै पालिकामा सञ्चालन भएको जानकारी गराए । उनले स्वास्थ्य बीमा सुरु गर्नुभन्दा गुणस्तरीय सेवा पाउने कुरा महत्वपूर्ण भएको बताए । 

ललितपुर महानगरपालिका स्वास्थ्य बीमा सम्पर्क व्यक्ति दाताराम अधिकारीले यल स्वास्थ्य केन्द्रमा अहिले कर्मचारी र चिकित्सकसहित ५६ जनाको व्यवस्था भएको जानकारी गराए। आपत्तकालीन सेवामा पाँच शय्या र बहिरङ्ग सेवामा पाँच शय्या रहेको स्वास्थ्य सेवा केन्द्रबाट दैनिक पाँच विशेषज्ञ सेवासहित २४ घन्टा सेवा प्रदान गरिनेछ । जनरल मेडिसिन, जनरल सर्जरी, प्रसुति, बालस्वास्थ्य र हाडजोर्नीको विशेषज्ञ सेवा प्रदान गर्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update