Odapalika - The Fourth Estate - चौथो अंग
सर्केगाड गाउँमा जब गाडी पुग्यो...

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुगेको छ । गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन् । 

गाउँपालिकाको केन्द्र सर्केगाड बजारमा गाडी पुगे पनि गाउँ भने सडकबिहीन थियो । गाउँमै गाडी पुगेपछि स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएको भन्दै खुसी व्यक्त गरे । 

अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म आवतजावत गर्दा पैदल हिँड्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

   सडक सञ्जालसँग जोडिएपछि एकसाथ ६ वटा बोलेरो जिप गोठी गाउँ पुगेका छन् ।  गाडी पुगेपछि अब गोठी गाउँ राष्ट्रिय सडक सञ्जालसँगसमेत जोडिएको छ । सर्केगाड गाउँपालिका केन्द्र यसअघि नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो । 

   गाउँमा ताँती लागेर आएका बोलेरो जिप मा सवार यात्रु र सवारी चालकलाई बाजागाजा तथा फूल अबिरले स्वागत गरिएको थियो । गाडी चालकलाई स्थानीयले फूलमाला र अक्षता लगाएर भव्य स्वागत गरेका थिए । दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबैखाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो भएको स्थानीयको भनाइ छ ।

सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेव, पंखा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ४ करोड ४९ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update