Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौँ  ।  गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए ।

नयाँ संविधान जारी भएपछि विसं २०७४ मङ्सिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा बर्सेनि मनाउँदै आइएको छ । 

स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दैै आएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update