Odapalika - The Fourth Estate - चौथो अंग
गृहमन्त्रीको दाबीः अब सरुवा, बढुवा, नियुक्तिमा सोर्सफोर्स र बिचौलियाको चलखेल चल्दैन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक (एसपी) हरूलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन् । 

उनले कार्यकाल सफलताको शुभकामना दिंदै उक्त निर्देशन दिएका हुन् । माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो ।

बिहिबार बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको उपस्तिथिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा  गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खट्न आग्रह गरेका हुन् । यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि उनले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामुहिक निर्देशन दिएका थिए । 

जिम्मेवारीमा जानुअघि अधिकारीहरूलाई आवश्यक निर्देशन दिने प्रचलनको सुरुवात गृहमन्त्री श्रेष्ठले नै गरेका हुन् । यसले अधिकारीहरूलाई सरकारको कार्यभार, नीति र कार्यक्रमको स्पिरिट बुझेर काम गर्न तथा कार्यकुशलता देखाउन हौसला मिल्ने विश्वास समेत मन्त्रालय नेतृत्वले लिएको छ ।

सरकारले पहुँच र विभिन्न स्वार्थका आधारमा होइन क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेकोले बिना संकोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए ।

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कार्वाही गरिने उनले बताए । प्रमुखको जिम्मेवारी पाउन दल एवम् नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफुले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न समेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन, यी सबै योजनामा प्रदेश तथा पालिका सरकारसँग समन्वय गरेर काम गर्न र मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत निर्देशन दिए ।

मन्त्रालयले प्रहरी अधिकारीहरूको सरुवा, काज सरुवा र पदस्थापनमा निश्चित मापदण्ड तय गरिसकेको छ । त्यही मापदण्डअनुसार एसपीहरूको नयाँ जिम्मेवारी तोकिएको हो।  पहुँच र भनसुन आधारमा नभएर सेवाअवधि, क वा ख वर्गका जिल्लामा काम गरेको आधार, जिल्ला प्रमुखको रूपमा काम गरेको आधार र एउटै जिम्मेवारीमा नदोहोरिनेगरी मापदण्ड बनाईएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update