
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा भिमदत्त नगरपालिकाका ६ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीले उक्त दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । १० जनामध्ये ६ जना भिमदत्त नगरपालिकाका रहेको उनले बताए ।
वलीका अनुसार सनाखत भएका मृतकमा कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन् । यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त – २ का सुदीप भट्ट र पुनरवास –९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।
यस्तै, रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।
कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।