Odapalika - The Fourth Estate - चौथो अंग
दुःखको बेला किसानको साथी बन्यो पनौती नगरपालिका, लम्पी स्किनले पशु मरेका किसानलाई दियो राहत

काठमाडौँ । काभ्रेको पनौती नगरपालिका दुःखको बेलामा किसानको साथी बनेको छ । कही महिनाअघि देशव्यापी महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई नगरपालिकाले विपद कोषबाट राहत रकम उपलब्ध गराएको हो ।

किसानलाई परेको समस्या समाधान गर्न नगरपालिकाले अधिकतम प्रयास गरेको र यसैको शिलशिलामा राहत उपलब्ध गराइएको मेयर रामशरण भण्डारीले बताए ।

‘लम्पी स्किन महामारीले किसानलाई परेको सबै क्षतिको क्षतिपूर्ति गर्न सक्ने अवस्था त नगरपालिकासँग पनि छैन । तर, पनि हाम्रो विपद कोषबाट सकेसम्म राहत रकम उपलब्ध गराएका छौं,’ मेयर भण्डारीले वडापालिकासँग भने ।

नेपालभर फैलिएको लम्पी स्किन रोगका कारण पनौती नगरपालिकाभित्र मात्रै २ हजार ६६२ पशुमा संक्रमण भएको थियो । यसमध्ये ४१६ वटा पशु सो रोगका कारण मरेका थिए । यसरी मर्नेमध्ये ३३२ वटा माउ पशु थिए ।

नगरपालिकाले लम्पी स्किन रोग लागेर मरेका पशुको प्रतिपशु १० हजार रुपैयाँ राहत रकम उपलब्ध गराएको थियो ।

नगरपालिकाले रोग लागेर मरेका पशुको हकमा किसानलाई राहत उपलब्ध गराएको र अभियान नै संचालन गरेर लम्पी स्किन रोग विरुद्धको खोप लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य बताउँछन् ।

‘मरेका पशुको हकमा किसानलाई राहत उपलब्ध गराइएको थियो भने रोग विरुद्ध अभियान नै संचालन गरेर खोप लगाइएको थियो । नगरपालिकाले ९ हजारभन्दा बढी पशुमा लम्पी स्किन रोग विरुद्ध खोप लगाएको छ,’ प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने ।

पनौती नगरपालिकाले आफ्नो नगरक्षेत्रका पशुमा लाग्न सक्ने रोग विरुद्ध खोप अभियान संचालन गर्ने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update