Odapalika - The Fourth Estate - चौथो अंग
भोलिदेखि महालक्ष्मी महोत्सव, यी हुन् नगरका आकर्षक गन्तव्य  

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका आयोजना गर्न लागेको ३ दिने महोत्सव भोलि अर्थात शनिबारबाट सुरु हुँदैछ । नगरपालिकाले ५ देखि ७ फागुनसम्म महालक्ष्मी महोत्सव आयोजना गर्ने भएको छ । 

नगरको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक तान्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको नगर प्रमुख हरि गोविन्द श्रेष्ठले जानकारी दिए । 

नगरप्रमुख श्रेष्ठका अनुसार ३ दिनसम्म चल्ने महोत्सवमा नगरभित्रका विभिन्न धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरुमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् भने यसलाई सम्पन्न गर्न नगरसभाले ५० लाख रुपैयाँ बजेटसमेत बिनियोजन गरेको छ । 

mahalaxmi1708048696.jpg

नगरपालिकाले महोत्सवको प्रचारका लागि बिहीबार ललितपुरको ग्वार्कोबाट प्रभातफेरि गरेको छ । जहाँ जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मले सहभागिता जनाए । 

नगरले महोत्सवको प्रचारलाई तिव्र बनाएको र सबै तयारी पूरा भएको जनाएको छ । महोत्सवलाई सफल पार्न नगरपालिकाले वडाअध्यक्षहरुको संयोजकत्वमा विभिन्न ९ वटा उपसमिति गठन गरेर काम गरिरहेको छ । 

महोत्सवमा स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गरी आन्तरिक रोजगारी प्रर्वद्धन गर्ने नगरपालिकाको योजना छ । 

पहिलोपटक हुन लागेको महोत्सवमा नगरभित्रका १० वटै वडाका महत्वपूर्ण स्थलहरुमा पर्यटकहरु लैजानेगरी योजनावद्ध रुपमा काम गरिरहेको नगर उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिइन् । 

उनकाअनुसार महालक्ष्मी नगरपालिका ऐतिहासिक, धार्मिक र पुरातात्विक नगर हो । जहाँ नेपालीका अतिरिक्त नेवारी र तामाङभाषीहरुको बाहुल्य छ । 

महोत्सवमा नेवारी र तामाङ संस्कृतिको प्रचारदेखि यहाँका धार्मिक र ऐतिहासिक स्थलसम्म पर्यटकहरु लैजाने नगरको योजना रहेको उनले जानकारी दिइन् । 

५ फागुनमा महालक्ष्मी नगरपालिकाको नामाकरण भएको लुभुस्थित महालक्ष्मी मन्दिर परिसरमा उद्घाटन कार्यक्रम राखिएको छ । जहाँ संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रमुख आतिथ्यता गर्नेछन् ।

महोत्सवको दोस्रो दिन वडा नम्बर ६ सिद्धिपुरको नेवारी संस्कृति, स्थानीय उत्पादनको प्रदर्शनी, वडा नम्बर ४ मा रहेको बोझेपोखरीमा डुंगा सयरलगायतका कार्यक्रम राखिएका छन् । जहाँ संघीय गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनेछन् । 

महोत्सवको अन्तिम दिन एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाएर पर्यटकको रोजाइमा रहेको लाकुरीभञ्ज्याङ, मनमोहन पार्क र गणेशमान पार्कमा विविध कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

महोत्सवमा ऐतिहासिक सम्पदाहरुको अवलोकन, सांस्कृतिक कार्यक्रम, नेवारीसहितका ४० वटा बाजाहरुको प्रस्तुति र प्रदर्शन, तामाङ संस्कृतिसहितको खाना महोत्सव, मार्चपास, र्याली, घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्रीस्थललगायतका गतिविधि हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिए । 

यी हुन महालक्ष्मीका आकर्षण 

महालक्ष्मी नगरपालिका सांस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरुको धनी पालिका हो । महालक्ष्मी मन्दिर, लाँकुरीभञ्ज्याङ, श्रृङगी ऋषि गुफा, श्रृङ्गेरी डाँडा, कामधेनु गुफा, अशोक स्तुपा, शान्ति पोखरी, गणेश तथा भैरव मन्दिर, सिद्धेश्वर मन्दिर, कृष्ण तथा बालकुमारी मन्दिर, गोभ्राटेश्वर देग जस्ता ऐतिहासिक र धार्मिक स्थल यही नगरपालिकाभित्र पर्छन् । 

वोझेपोखरी, कमलपोखरी, फोङ्गाः पुखु, बुद्ध पोखरी, पाँचपोखरी, भैरव कुण्ड, सिंथलीडाँडा पोखरी, लामाडाडा पोखरीजस्ता पोखरीहरु पनि यही पालिकामा छन् । 

बासुकी नागस्थान, कामधेनु गुफा, मातभ्व सङ्गम, गोशिङ्ग तीर्थ, माने चैत्य गुम्बा, भीमसेन डाँडाको सुर्योदयस्थलजस्ता ऐतिहासिक सम्पदा पनि यही नगरपालिकामा पर्छन् । 

नगरपालिकाले यस्ता सम्पदाको प्रचार गरी पर्यटन प्रर्वद्धनमार्फत आन्तरिक आय वढाउन र नगरको प्रचार प्रसार गर्न महोत्सव आयोजना गर्न लागेको नगरप्रमुख श्रेष्ठको दाबी छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update