Odapalika - The Fourth Estate - चौथो अंग
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार 

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन् । 

पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका ५२३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा वितरण गरेको राईले बताए । 

राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं १३ नुनथलाका ३०, वडा नं १४ बुइपाका ३० र वडा नंं १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा दिएका हुन् । 

वडा नं ८ दोर्पाचिउरीडाँडा र वडा नं ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको उनको भनाइ छ । 

पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट १ करोड रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको छ । 

‘व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ । यसले कृषकसमेत उत्साहित भएका छन्,’ उनले भने । 

पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले चालु आथिृक वर्षमा ब्याज अनुदानस्वरुप किसानलाई ४ करोड रकम उपलब्ध गराउने पहल थालेको छ । विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराई बताउँछन् । 

नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । 

कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update