Odapalika - The Fourth Estate - चौथो अंग
सरकारी अधिकारी नै भन्छन्ः विद्युतीय सवारीको आयातमा वृद्धि भए १ खर्ब राजश्व गुम्छ

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अनुरुप कर छुटका कारण चालु आ.व.को अन्त्यसम्म १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको हो । 

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा राजश्व संकलनको विषयमा जानकारी दिँदै अर्थ मन्त्रालयका राजश्व सचिव, भन्सार विभागका महानिर्देशक र आन्तरिक राजश्व विभागका महानिर्देशकले यस्तो बताएका हुन् । 

उनीहरुले सरकारले चालु आ.व.मा राजश्व संकलनमा लिएको लक्ष्यअनुसार नउठ्ने अवस्था देखिएका बताए । उनीहरुले मुलुकको आर्थिक गतिविधि सुस्तता, वैदेशिक व्यापारमा कमी र विद्युतीय सवारी साधनको आयातमा वृद्धि भएको कारण राजश्व संकलनमा कमी देखिएको बताए । 

उनीहरुले माघ मसान्तसम्म ५ हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड रुपैयाँ राजश्व संकलन भएको भन्दै यही सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व संकलन हुने अवस्था रहेको बताए । 

बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार विभागले माघ मसान्तसम्म भन्सार राजश्व २ खर्ब ३७ अर्ब उठाएको अवस्था रहेको बताए । उनले चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि राजश्व संकलनमा लक्ष्य भन्दा धेरै पछाडि रहेको स्पष्ट पारे । उनले आर्थिक ऐनका विभिन्न प्रावधानले दिएको छुटका कारण खबौंको रुपैयाँ कमी आएको उल्लेख गरे ।

महानिर्देशक पौडेलले मुलुकको वैदेशिक व्यापारतर्फ आयात व्यापार ३ र निर्यात व्यापार ७.५ प्रतिशतले घटेकाले पनि राजश्व संकलन कमी आएको बताए । उनले माघ मसान्तसम्म ५ हजार २२९ वटा विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको बताए । उनले विद्युतीय सवारी साधनको ठाउँमा ५ हजार बढी सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व प्राप्त हुने अवस्था रहेको बताए । 

चालु आर्थिक वर्षको अन्त्यसम्म पुग्दा करिव १० हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुने देखिएकाले त्यसबाट चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको आयात वृद्धि हुँदा १ खर्ब बराबरको राजश्वमा कमी आउने देखिएको उनको भनाई छ ।

एलपी ग्यास र पेट्रोलिय पदार्थ लगायत अन्य केही वस्तुहरुको आयातमा कमी देखिएकाले चालु आ.व.को अन्त्यसम्ममा १० अर्ब ८१ करोड घटि राजश्व संकलन अवस्था देखिएको पौडेलले बताए । 

अर्थ मन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आन्तरिक राजश्व संकलन १०.०३ प्रतिशतले वृद्धि रहेको बताए । उनले भन्सार विभाग तर्फ ९.९१ प्रतिशत, गैर कर तर्फ १२.६९ प्रतिशत गरी जम्मा १०.२४ प्रतिशत रहेको बताए । गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले राजश्व संकलनको हिसाबले असाधरण वर्षको रुपमा रहे पनि चालु आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्दा गत वर्षको तुलनामा राजश्व संकलन लयमा फर्किंदै गएको उनको भनाई छ । 

राजश्व सचिव  घिमिरेले मुलुकको राजश्व संकलनमा सुधार आउन केही समय लाग्ने बताए । सरकारले लिएको लक्ष्यअनुसार राजश्व संकलन हुन सकेको स्वीकार गर्दै  उनले अर्धवार्षिक मूल्याङ्कनमा राजश्व संकलन लक्ष्यमा संशोधन गरिएको बताए । 

सरकारले १४ खर्ब २२ अर्ब राजश्व संकलनको लक्ष्य रहेकोमा संशोधन गरेर १२ खर्ब २ अर्बको लक्ष्य कामय गरेको छ । 

आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालले चालु आर्थिक वर्षको १४ खर्ब २२ अर्बमध्ये ६ खर्ब ७७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेको बताए । उनले विभागले माघ अन्तिमसम्म ३ अर्ब ४७ अर्ब करिव राजश्व संकलन लक्ष्यको ८१ प्रतिशत मात्रै संकलन गरेको बताउँदै गत वर्षको तुलना गर्दा १० प्रतिशत बढी रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update