Odapalika - The Fourth Estate - चौथो अंग
धानबाली डुवाएको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला

बर्दिया । वडा कार्यालयको लापरवाहीले धानबाली डुवानमा परेको भन्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ । बर्दियाको सदरमुकाम राजापुर नगरपालिका–७ का स्थानीयले वडा कार्यालय घेराउ गर्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

स्थानीयले धानबाली डुबानमा परेको भन्दै उनीहरुले वडा कार्यालय घेराउसँगै तालाबन्दी गरेका छन् । १०–१२ वर्षअघिबाट चलनचल्तीको झरन कुलो (नाला) प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत बन्द गरिएको स्थानीयको आरोप छ । अहिले उक्त क्षेत्रमा रोपाइँ गरेको दुई सय बिघाभन्दा बढी धानबाली डुबानमा परेको स्थानीय झकुलाल थारुले बताए । 

बर्खायाममा डुबान पर्ने भन्दै यसअघि समस्या समाधानका लागि न्यायिक समितिमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको स्थानीय राजबहादुर खत्रीले बताए ।

‘वडाध्यक्षले समस्या समाधान गर्छु भनेर आश्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफूहरु बाध्य भएर वडा कार्यालय घेराउ गर्न आएको हौँ ।’ उनले भने, ‘आफूहरूको माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्नेछौं ।’

न्यायिक समितिले समस्या समाधान गर्ने भनेर खबर आएको र न्यायिक  समितिमार्फत उक्त समस्या समाधान गरिने वडाध्यक्ष रामु थारु बताउँछन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update