Odapalika - The Fourth Estate - चौथो अंग
प्रजातन्त्र दिवसकाे दिन कागेश्वरी मनोहरामा पर्यटन महोत्सव

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार १०औँ ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ । नगरपाालिकाको धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पालिकाले सोमबार एक दिने महोत्सव आयोजना गर्न लागेको हो । 

कागेश्वरीधाममा हुने १०औँ महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्नेगरी रचनात्मक कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएको छ । 

नगरप्रमुख उपेन्द्र कार्कीले धार्मिक, पर्यापर्यटन र खेलकुदका हिसावले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको संयोजकत्वमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी गरिरहेको जानकारी दिँदै उपस्थितिका लागि सबैसँग अनुरोध गरे । 

महोत्सवका अवसरमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवद्र्धनात्मक गतिविधि र उद्यमशीलताको विकास एवं प्रबद्र्धनसँग सम्बन्धित कार्यक्रम हुने प्रमुख कार्कीले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले कागेश्वरी मनोहराको पर्यटन प्रवद्र्धनमा जोड दिन एक दिने महोत्सव आयोजना गर्न लागिएको बताए । उनका अनुसार यसअघि कागेश्वर मनोहरा महोत्सव भनिएपनि यसपालिदेखि ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ गर्न लागिएको बताए । 

महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकासहित ५० हजार काठमाडौँ उपत्यकाबासीको उपस्थिति हुने अपेक्षा गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले २०७२ सालदेखि नियमितरूपमा महोत्सव आयोजना गर्दै आएइको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update