Odapalika - The Fourth Estate - चौथो अंग
तेस्रो पटक विश्वासको मत लिदै मधेसका मुख्यमन्त्री 

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । योसँगै उनले तेस्रोपटक विश्वासको मतको सामना गर्दैछन् । 

जनमत पार्टीले गत ९ माघमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासको मत लिन लागेका हुन् । आज २ बजे प्रदेशसभाको बैठकमा उनले विश्वासको मत माग्ने कार्यसूची छ ।

गत १ जेठमा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० जेठमा दोस्रोपटक विश्वासको मत लिएका थिए । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

मधेस प्रदेशसभाका १०७ सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा (माओवादी केन्द्र)को ९, नेकपा (एकीकृत समाजवादी)को ७ र  नेपाल सङ्घीय समाजवादी पार्टी,  नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक सदस्य तथा  तथा तीन जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् । 

जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)  सहभागी छन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update