Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाः आदर्श, वडा नम्बरः ६, कार्यालय समयः २४ घन्टा 

काठमाडौँ । सरकारी कार्यालय भन्नासाथ तपाइँको बुझाइ कस्तो हुन्छ ? बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने । समयमै कर्मचारीहरु उपस्थित नहुने, धेरै भिडभाड, समयमा काम नबन्ने । यस्तै यस्तै...

कार्यालय समय मात्र होइन देश संघीयतामा गएर सिहंदरबारको अधिकार गाउँ गाउँमा पुगिसक्दा गाउँका सिहंदरबारले दिने सेवा सुविधामा समेत धेरैले गुनासो गर्ने गरेका छन् । 

काठमाडौँको सिहंदरबारको अधिकार गाउँको सिहंदरबारमा पुगेपनि अझै व्यवस्थित नभएको, पर्याप्त कर्मचारी नहुनु, समयमा भनेको काम नहुने लगायतका समस्या जहाँको त्यहीँ छ । 

तर, सरकारी कार्यालय भन्नासाथ नाँक खुम्च्याउँने, सकेसम्म जानै नपरे हुन्थ्यो भन्नेहरुका लागि नमुना बनेको छ, डोटी जिल्लाको दुर्गम भेगमा रहेको आदर्श गाउँपालिकाको वडा नम्बर ६ । 

वडा नम्बर ६ ले विगत ४ वर्षदेखि सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रवाह गर्दै आएको छ । कार्यालय समय सकियो, अब काम हुँदैन भनेर कुनै पनि सेवाग्राहीलाई फर्काउनुपर्ने अवस्था नआएको वडा कार्यालयले जनाएको छ । 

वडा नम्बर ६ का वडा सचिव श्याम सिं धामी सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रवाह गर्दै आएको बताउँछन् । 

‘हाम्रो वडा जिल्लाकै दुर्गम क्षेत्रमा पर्छ, यहाँका अधिकांश मानिसलाई १० बजेदेखि ५ बजेसम्म मात्र वडा कार्यालय खुल्छ भन्नेसम्म थाहा छैन । उहाँहरु आफ्नो आवश्यकतासँगै पायक पर्ने समयमा आउनुहुन्छ’, उनले भने, ‘म वडा कार्यालयमै बस्ने हुँदा उहाँहरुलाई खाली हात पठाउनभन्दा काम गरेर नै पठाउँने गरेको छु । उहाँहरु आएपछि जुनसुकै समयमा काम हुने हुँदा अहिले कार्यालय समय थाहा हुनेहरुले समेत भुलिसक्नुभएको छ ।’

उनले ४ वर्षदेखि सेवाग्राहीको आवश्यकता अनुसार आफूसँगै वडाका अन्य कर्मचारीहरुले सेवा दिदँै आएको बताए । उनीसँगै वडामा रहेका ५ जना कर्मचारीहरुले बिहान, साँझ, सार्वजनिक विदाको दिन नभनी सेवा दिदैँ आएका छन् । 

सचिव धामी वडा कार्यालयले उपलब्ध गराएको आवास गृहमा बस्दै आएका छन् । गाउँपालिकामा बैठक नहुँदा उनी वडाको गेटसम्म समेत नपुग्ने बताउँछन् । 

‘म वडाले उपलब्ध गराएको आवास गृहमा बस्दै आएको छु, गाउँपालिकामा बैठक भए बाध्य भएर जानुपर्छ, नभए अन्य समय खासै बाहिर जादिन, खासै बाहिर नजाने हुँदा सेवाग्राही आएमा काम गर्ने गरेको छु’, उनले भने । 

वडा अध्यक्ष लालबहादुर खडायत भौगोलिक दुरीका हिसाबले वडा कार्यालय दुर्गममा हुँदा सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रवाह गर्नुपरेको बताउँछन् । 

‘वडा सचिव वडाकै आवास गृहमा (वडा कार्यालयमै) बस्नुहुन्छ, उहाँ यहाँ बस्दा र सहयोगी हुँदा स्थानीयले आवश्यकता अनुसार सेवा पाएका हुन्’, उनले भने, ‘यहाँबाट सदरमुकामका लागि बिहान ६ बजे गाडी लागिसक्छ । बेलुकी ९ नबज्दासम्म फर्कदैन, बिहानै गाडी चढेर सदरमुकाम जाने सेवाग्राहीका लागि सचिवले बिहानै काम गरिदिनुहुन्छ ।’

उनले स्थानीयको समस्या बुझने कर्मचारी पाउँदा भनेकै समयमा सेवा प्रवाह गर्न सहज भएको बताए । अध्यक्ष खडायतको यो दोस्रो कार्यकाल हो । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update