Odapalika - The Fourth Estate - चौथो अंग
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकारका रुपमा रहेका भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्तीको निर्णय गरेको हो । 

यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ । सरकारको उक्त निर्णयसँगै भट्ट दोस्रो पटक निगमको कार्यकारी भएका छन् । उनी २०७१ सालमा निगमबाट बाहिरिएका थिए भने २०७७ भदौदेखि सेज प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । 

यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त समेत गरिएको छ ।

मन्त्रिपरिषद्कै बैठकले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको देखिएकोभन्दै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको छ । 

डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने, सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने र राष्ट्रिय प्रसारण (बाह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने समेत निर्णय गरेको छ । 

यस्तैगरी, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने, प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० स्वीकृत गर्ने र एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update