Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस महासमिति बैठकः निर्वाचन हुन नसकेका क्षेत्रबाट आमन्त्रित, प्रेस युनिनलाई ३ सिट

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका क्षेत्रको पनि प्रतिनिधित्व गराएको छ । महासमिति निर्वाचन नभएका क्षेत्रका महाधिवेशन प्रतिनिधिलाई नै महासमिति बैठकमा सहभागी गराइएको हो ।

महासमिति निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय कांग्रेसले गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएका क्षेत्रहरूको हकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रितका रूपमा सहभागी गराउने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं  १, दोलखा, ओखलढुङ्गा, काठमाडौँ क्षेत्र नं ५, दाङ क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बागलुङ क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ जिल्ला तथा निर्वाचन क्षेत्रमा महासमितिको निर्वाचन हुन सकेको थिएन । यी क्षेत्रको हकमा कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई नै आमन्त्रितको रुपमा महासमिति बैठकमा भाग लिन दिएको हो ।

बैठकले कांग्रेसको १४औँ महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, नेपाल लोकतान्त्रिक खेलकूल सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल थारू सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ र नेपाल मुस्लिम सङ्घका हकमा अध्यक्षसहित तीनजना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको १४औँ महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनका हकमा पनि अध्यक्षसहित तीनजना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनपश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update