Odapalika - The Fourth Estate - चौथो अंग
वडा टुक्र्याएर गाउँपालिका बनाउन लागेका वडाध्यक्षको अभियान नगरपालिकामै अलपत्र

काठमाडौँ । गत शनिवार रौतहटको चन्द्रपुर नगरपालिकाको नगरसभामा अलि फरक दृश्य देखियो । नगरसभा चलिरहदा वडा नम्बर ३ का वडाध्यक्ष बोधनाथ देवकोटाले सो वडा टुक्र्याएर बेग्लै गाउँपालिका बनाउने प्रस्ताव नगरसभामा राखे ।

नगरपालिकाले आफ्नो वडाको विकासमा ध्यान दिन नसकेको र आफ्नो वडाको समग्र विकासका लागि बेग्लै गाउँपालिका बनाउनु पर्ने प्रस्ताव वडाध्यक्ष देवकोटाको थियो । वडाध्यक्ष देवकोटाले राखेको प्रस्ताव पारित भएको उनलाई लागे पनि अन्य वडाध्यक्षहरुलाई के भयो भन्ने जानकारी भएन ।

वडाध्यक्ष देवकोटा आफ्नो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको दाबी गर्छन् । वडाले फागुन १ गते निर्णय गरेपछि सो प्रस्ताव नगरसभामा राखिएको उनको भनाइ छ ।

‘नगरसभामा मैले वडा नम्बर ३ लाई बेग्लै पालिका बनाउन प्रस्ताव राखेको थिएँ । सभाले सर्वसम्मत रुपमा सो प्रस्ताव पारित गरेको छ । अब चाहिने कागजपत्र लिएर प्रदेश मुख्यमन्त्रीको कार्यालय जान्छौं,’ वडाध्यक्ष देवकोटाले वडापालिकासँग भने ।

अन्य वडाका वडाध्यक्षहरु भने सो प्रस्ताव पारित भएको आफूलाई जानकारी नै नभएको बताउँछन् । वडा नम्बर ४ का वडाध्यक्ष रवि राना मगरले ‘प्रस्ताव आएको तर मेयरले पछि छलफल गरौंला भनेर टुंगिएको’ बताउँछन् ।

वडा नम्बर ७ का वडाध्यक्ष विष्णुप्रसाद उप्रेती पनि नगरसभामा प्रस्ताव आएको र सो प्रस्तावले ‘हासिमजाक गरेको’ बताउँछन् ।

‘बोधनाथजी (वडा नम्बर ३ का वडाध्यक्ष देवकोटा) लाई के–के के–के गरिरहन मन पर्ने रहेछ । वडा नम्बर ३ लाई टुक्र्याएर बेग्लै पालिका बनाउने प्रस्ताव नगरसभामा राख्नुभयो । उहाँको प्रस्तावले नगरसभामा हासिमजाक भयो । त्यतिकै सकियो । पारित हुने त के, कसैले छलफल पनि गरेन,’ वडाध्यक्ष उप्रेतीले भने ।

मैले कार्यपालिकाबाटै अस्वीकार गरेको थिएँः मेयर

नगरपालिकाका मेयर संजिवकुमार काफ्ले वडा नम्बर ३ लाई टुक्रयाएर बेग्लै पालिका बनाउनु पर्छ भन्ने प्रस्ताव नगरकार्यपालिकामा आएको र आफूले अस्वीकार गरेको बताउँछन् । सो वडालाई बेग्लै पालिका बनाउनु पर्ने कानुनी, आर्थिक, राजनीतिक लगायतका कुनै पनि आधार नभएकोले आफूले अस्वीकार गरेको उनको भनाइ छ ।

‘वडा नम्बर ३ लाई टुक्रयाएर बेग्लै पालिका बनाउनु पर्यो भनेर नगरकार्यपालिकामा नै प्रस्ताव आएको थियो । मैले सो प्रस्ताव अस्वीकार गरेको थिएँ । पछि नगरसभामा पनि पेश भयो । त्यस्तो प्रस्ताव पारित हुँदैन । म पारित हुन दिन्नँ,’ मेयर काफ्लेले वडापालिकासँग भने ।

वडाध्यक्ष देवकोटाका तर्क

वडाध्यक्ष देवकोटा भने सो वडालाई बेग्लै गाउँपालिका बनाउनु पर्ने आधार र कारण रहेको बताउँछन् । आफ्नो वडा बेग्लै गाउँपालिका बनाउनको लागि आवश्यक भूगोल र जनसंख्या पुग्ने भएकोले बेग्लै बनाउनु पर्ने उनको दाबी छ ।

‘नगरपालिकाको कार्यालय आउन यो वडाका केही बासिन्दाले ४० किलोमटिरसम्म आउनु पर्छ । धेरै टाढा भयो । विकासका कार्यक्रम हाम्रो वडामा आएनन् । गाउँपालिका बनाउन १५ हेक्टर जमिन भए पुग्ने कानुनी व्यवस्था छ । हाम्रो वडाको भूगोल २८ हेक्टर जमिन छ । गाउँपालिका बनाउन साढे ८ हजार जनसंख्या भए पुग्छ । हाम्रो वडामा २१ हजार जनसंख्या छ । त्यसैले वडा नम्बर ३ लाई जसरी भएपनि बेग्लै गाउँपालिका बनाउनु पर्छ,’ वडाध्यक्ष देवकोटाले भने ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update