Odapalika - The Fourth Estate - चौथो अंग
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु 

बर्दिया । ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ । 

नगर प्रमुख तिलकराम लम्सालले ज्येष्ठ नागरिक टोप बहादुर अधिकारीलाई बीमा पर्चा प्रदान गरी स्वास्थ्य बीमा सेवाको उद्घाटन गरेका हुन् । सेवा शुभारम्भ गर्दै नगर प्रमुख लम्सालले स्वास्थ्य बीमाको सेवालाई झन्झटरहित र सहज बनाउँदै स्थानीयस्तरमा नै गुणस्तरीय सेवा प्रदान गरिने बताए ।

ठाकुरबाबा नगरपालिकाले १७ जेठमा स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो । 

बीमा सेवा प्राप्त गर्न सहज होस भनि आधारभूत नगर अस्पतालमा सेवा सुरु गरिएको नगर उपप्रमुख बिना कुमारी भट्टराईले जानकारी दिइन् । 

बीमा कार्यक्रम लागु भएपछि नगरवासीले आधारभूत नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र १ सय ३३ थरीका औषधि पाउने छन् । 

यसबाहेक आधारभूत नगर अस्पतालमा उपलब्ध नभएका सिटी स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ । 

नगर अस्पतालमा बीमा कार्यक्रम लागु हुँदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने र स्थानीयस्तरमा उपलब्ध हुने सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने पनि उपप्रमुख भट्टराईको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update