Odapalika - The Fourth Estate - चौथो अंग
एभरेष्ट अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरको अवरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अनुगमन टोलीले स्वास्थ्य संस्थाले अबलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । 

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा २०७९ सालमा त्रुटि पाइएपछि ९ बुँदे सुधारका सुझाव दिएर पत्र पठाइएको थियो । पत्रबाट गर्नु भनेका कामहरु पूरा नगरेको भेटिएपछि फोहोर संकलनमा रोक लगाईएको महानगरले जनाएको छ । 

अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत ख्याल गरिएको छैन । संकलित फोहोर भण्डारण व्यवस्थापन भएको छैन । संक्रमणयुक्त फोहोर निर्मलीकरण गर्ने ठाउँमा पुग्न नै कठिन छ । भएको मेसिन पनि चलेको छैन । यसप्रकारका लापर्वाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको हो । 

अनुगमनमा क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘स्वास्थ्य संस्थाजन्य हानीकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्छ । यसकारण अस्पतालबाट निस्कने हानीकारक फोहोर व्यवस्थापनमा सानातिना त्रुटि पनि स्वीकारिँदैन’, अस्पतालको फोहोर व्यवस्थापन अभ्यासको विश्लेषण गर्दै परियारले भन्नुभयो, ‘सामान्यतयाः निजी अस्पतालहरुको सेवा राम्रो भन्ने गरिन्छ । फोहोर व्यवस्थापनको अभ्यास हेर्दा निजीले भन्दा सरकारी अस्पतालले राम्ररी काम गरेको पाइयो । सरकारीले नै राम्रो गर्नु पर्ने हो । गरिरहेको देखियो ।’ 

गलत गर्नेलाई सरकारी नै भए पनि कारवाहीको दायरामा ल्याइएको छ । यसअघिको अनुगमनबाट महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । 

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्,‘हानीकारक फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि कारवाही फुक्का हुन्छ ।’

आज नै मीनभवनस्थित सिभिल अस्पतालको पनि अनुगमन गरिएको छ । अस्पताल फोहोर संकलनका लागि राखिएका सबैजसो बाल्टिन काला रङ्गका छन् । विर्कोहरु हरियो, पहेँलो, नीलो राखिएको छ । अनुगमन समितिको रंग संकेतका बारेमा सोध्दा अस्पताल प्रशासनले  राष्ट्रिय मापदण्ड कार्यान्यनमा आउनु अघि नै विश्व स्वास्थ्य संगठनको मापदण्ड कार्यान्वयनमा ल्याइएको जनाएको थियो । 

अस्पतालहरुले फरक फरक मापदण्डको पालना गर्दा फोहोर उत्पादक सर्वसाधारण झुक्किन्छन् । यसकारण अब हामी राष्ट्रिय मापदण्ड कार्यान्वयनका लागि सार्वजनिक आव्हान गर्छौँ । सिभिलको अनुगमनपछिको प्रतिक्रियामा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘कुन बाल्टिनमा कस्तो फोहोर हाल्ने हो भन्ने कुराको स्पष्ट संकेतका लागि अक्षर र चित्र दुवै राख्नु पर्ने सुझाव दिएका छौँ ।’

अनुगमनका क्रममा फोहोर उत्पादन हुने वाडहरु, ढुवानी हुने मार्ग, भण्डारण तथा अटोक्लेभ गरिनेछ ठाउँ, फोहोरमा काम गर्ने जनशक्तिको स्वच्छता सम्बन्धी आचरणहरु हेरिएका थिए ।  


 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update