Odapalika - The Fourth Estate - चौथो अंग
धनराजको पालामा तोडियो अन्चलाधीशले २०३१ सालमा बनाएको घर बनाउने कानुन

काठमाडौँ । तत्कालिन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले बनाएको घर बनाउने कानुन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पालामा पहिलो पटक परिवर्तन भएको छ ।

तत्कालिन अञ्चलाधीश पाठक नेतृत्वको समितिले २०३१ सालमा पोखरा क्षेत्रमा बढीमा साढे ३ तला अग्लो भवन मात्रै बनाउन पाइने मापदण्ड बनाएको थियो । अहिलेसम्म सोही मापदण्डलाई आधार बनाउने गरिएको भएपनि अबदेखि भने ५ तला अग्लोसम्म भवन बनाउन पाइने भएको छ ।

पोखरा महानगरपालिकाले बुधबार भवन तथा पूर्वाधार सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरेको छ । सो मापदण्डमा ५ तलासम्म अग्लो भवन बनाउन पाइने व्यवस्था छ । तर यसका लागि भने माटो परीक्षण गरेर ठीक देखिए मात्रै सोको अनुमती दिइने महानगरले जानकारी दिएको छ ।

२०३१ सालदेखिएको मापदण्ड पुरानो भएको जनआवाज उठेपछि विभिन्न समयमा समितिहरु गठन गरेर अध्ययन भएका थिए । तर, कुनै पनि समितिले नयाँ मापदण्ड सिफारिस गर्ने आँट गरेका थिएनन् ।

महानगरले २०७५ असोजमा इन्जिनियर प्रा.डा. भरतराज पहारीको संयोजकत्वमा भवन मापदण्ड पुनरावलोकन समिति गठन गरेको थियो । सो समितिले जग्गाको आकार अनुसार उचाइ निर्धारत गर्न सकिने सुझाव दिएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update