Odapalika - The Fourth Estate - चौथो अंग
दादुरा–रुबेला विरुद्धको खोेप अभियानः लमजुङमा ३ सय जनशक्तिले ९ दिनसम्म लगाउँछन् खोप

काठमाडौँ । लमजुङमा ९ दिनसम्म दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय लमजुङले फागुन १३ गतेदेखि २२ गतेसम्म ९ दिनसम्म दादुरा–रुबेला विरुद्धको खोेप अभियान सञ्चालन गरिने जनाएको हो । 

कार्यालयले जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग बहस पैरवी कार्यक्रमको आयोजना गरी खोप अभियानको बारेमा जानकारी गराएको हो । अभियान अन्तर्गत जिल्लाका ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिइनेछ ।

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालले अभियान अन्तर्गत जिल्लाका ९ हजार ८ सय १५ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको बताए । 

नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्थागरी २ सय १७ वटा खोप केन्द्रबाट खोप प्रदान गरिने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । 

कुन पालिकामा कति बालबालिका

आठ वटा स्थानीय तह रहेको लमजुङमा स्वास्थ्य कार्यालयले दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तर्गत बेसीशहर नगरपालिकाका २ हजार ३ सय ६२ जना बालबालिका, सुन्दरबजार नगरपालिकाका १ हजार ६ सय ७ जना, मध्यनेपाल नगरपालिकाका १ हजार २ सय ८५ जना, राइनास नगरपालिकाका  १ हजार १ सय ९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जनाएको छ । 

यस्तै, मर्स्याङ्दी गाउँपालिकाका १ हजार २ सय ११ जना, दोर्दी गाउँपालिकाका १ हजार ९२ जना, दूधपोखरी गाउँपालिकाका ५ सय ७३ जना र क्व्होलासोथर गाउँपालिकाका ५ सय ७१ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयल लमजुङका प्रमुख खनालले बताए । 

पहिलो चरणमा फागुन १३ गते बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, र दूधपोखरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ । 

दोस्रो चरण अन्तर्गत फागुन २१ गते राइनास नगरपालिका र क्व्होलासोथार गाउँपालिकामा अभियान सञ्चालन गरिने छ । तेस्रो चरण अन्तर्गत फागुन २२ गते मध्यनेपाल नगरपालिकामा अभियान सञ्चालन गर्ने कार्यतालिका रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । 

दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालनका लागि ३ सय भन्दा बढी जनशक्ति परिचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update