Odapalika - The Fourth Estate - चौथो अंग
पोखराका घरमा हरियो रंग लगाउने भनेको होइन, ‘ग्रिन सिटी’ बनाउने भनिएको होः तिवारी

काठमाडौँ । पोखरा महानगरले शहरी क्षेत्रलाई ग्रिन सिटी बनाउने भएको छ । महानगरले संचालन गरेको ‘क्लिन सिटी ग्रिन सिटी’ अभियानलाई सफल पार्न ग्रिन सिटी बनाउन लागिएको हो ।

महानगरले संचालन गरेको अभियानलाई सहयोग पुग्नेगरी पोखरालाई ग्रिन सिटी बनाउन लागिएको महानगरका सुचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए । पोखरालाई ग्रिन सिटी बनाउने भनेर महानगरले बताउँदा सबै घरमा हरियो रंग लगाउने भन्ने जस्तो सन्देश गएको उनको भनाइ छ ।

‘हामीले पोखराका सबै घरमा हरियो रंग लगाउने भनेका होइनौं । पोखरालाई ग्रिन सिटी बनाउने भनेका हौं । यहाँ बन्ने र बनाइएका संरचनाहरुलाई ग्रिन सिटी मैत्री बनाउने प्रयास गर्ने भनेको हो । सबै घरमा हरियो रंग लगाउने भनिएको होइन,’ सुचना अधिकारी तिवारीले वडापालिकासँग भने ।

महानगरले बनाएको भवन निर्माण सम्बन्धी नयाँ मापदण्डमा यस्तो व्यवस्था गरिएको छ । महानगरले भवन निर्माण सम्बन्धी पुरानो मापदण्ड परिवर्तन गरेर नयाँ मापदण्ड पनि बनाएको छ ।

तत्कालिन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले बनाएको घर बनाउने कानुन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पालामा पहिलो पटक परिवर्तन भएको हो ।

तत्कालिन अञ्चलाधीश पाठक नेतृत्वको समितिले २०३१ सालमा पोखरा क्षेत्रमा बढीमा साढे ३ तला अग्लो भवन मात्रै बनाउन पाइने मापदण्ड बनाएको थियो । अहिलेसम्म सोही मापदण्डलाई आधार बनाउने गरिएको भएपनि अबदेखि भने ५ तला अग्लोसम्म भवन बनाउन पाइने भएको छ ।

पोखरा महानगरपालिकाले बुधबार भवन तथा पूर्वाधार सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरेको छ । सो मापदण्डमा ५ तलासम्म अग्लो भवन बनाउन पाइने व्यवस्था छ । तर यसका लागि भने माटो परीक्षण गरेर ठीक देखिए मात्रै सोको अनुमती दिइने महानगरले जानकारी दिएको छ ।

२०३१ सालदेखिएको मापदण्ड पुरानो भएको जनआवाज उठेपछि विभिन्न समयमा समितिहरु गठन गरेर अध्ययन भएका थिए । तर, कुनै पनि समितिले नयाँ मापदण्ड सिफारिस गर्ने आँट गरेका थिएनन् ।

महानगरले २०७५ असोजमा इन्जिनियर प्रा.डा. भरतराज पहारीको संयोजकत्वमा भवन मापदण्ड पुनरावलोकन समिति गठन गरेको थियो । सो समितिले जग्गाको आकार अनुसार उचाइ निर्धारत गर्न सकिने सुझाव दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update