Odapalika - The Fourth Estate - चौथो अंग
साढे ६ वर्षपछि बल्ल टुंगो लाग्यो स्थानीय तहको केन्द्र 

काठमाडौँ । स्थानीय सरकार बनेको साढे ६ वर्षपछि पाल्पाको रम्भा गाउँपालिकाको केन्द्र टुंगिएको छ । 

लामो समयदेखि केन्द्रको विवाद रहेको उक्त पालिकाले निर्वाचन भएको साढे ६ वर्षपछि बल्ल केन्द्रको टुंगो लगाएको हो । केन्द्र सरकारले दिएकै पिपलडाँडामा पर्ने खोकखोलाको ५०० मिटर वरपर नै पालिकाको केन्द्र राख्ने निर्णय भएको हो । 

संघीय सरकारले तत्कालीन समयमा रम्भा–३, पिपलडाँडामा पर्ने खोकखोलामा केन्द्र तोकेको थियो । हाल केन्द्र रहेकै स्थानको ५०० मिटर वरपर भित्रपर्ने स्वास्थ्य चौकी नजिक केन्द्र बनाउने निर्णय भएको पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । 

उनका अनुसार पिपलडाँडा स्वास्थ्य चौकीको दक्षिणतर्फ ४ जना स्थानीयले दिएको ७ रोपनी १ आना जग्गा पालिकाको नाममा ल्याउने काम सुरु भएको छ । उक्त जग्गा पालिकाको नाममा आउनासाथ प्रशासकीय भवन निर्माणको तयारी थाल्ने उनको भनाइ छ ।

केन्द्रको टुंगो नलाग्दा हाल पालिका भाडाकै भरमा सञ्चालन हुँदै आएको थियो । पालिकाले भवन निर्माणका लागि यस वर्ष ५० लाख बजेट विनियोजन गरेको छ । सोही रकमबाट डीपीआर बनाउने, घडेरी सम्याउने, तारबार गर्ने लगायतका कामहरु सुरु गरिने जनाइएको छ ।

२०७४ मा निर्वाचित जनप्रतिनिधिले केन्द्र टुंगो नलगाई विदा भए । केही वडाका वडाध्यक्ष परिवर्तन भए पनि २०७४ सालमा रम्भा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका भण्डारी र उपाध्यक्ष राधाकुमारी श्रेष्ठ पुनः २०७९ मा समेत निर्वाचित भएका हुन् । पहिलो कार्यकालमा केन्द्र विवाद मिलाउन नसकेका उनीहरुले दोस्रो कार्यकाल सुरु भएको डेढ वर्षमा केन्द्रको टुंगो लगाउन सफल भएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update