Odapalika - The Fourth Estate - चौथो अंग
मेयर ड्राइभरको जागिर खाने, उपमेयर आफ्नै गाडी जलाउने !

महोत्तरी । महोत्तरीका स्थानीय तहहरुमा प्रमुख र उपप्रमुखहरुको जिम्मेवारी र अधिकार क्षेत्रको बिषयमा बेलाबेलामा प्रश्न उठ्ने गर्छ ।

संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारका विषयमा जानकार बन्न नसक्दा प्रमुखले उपप्रमुखका जिम्मेवारीमा हस्तक्षेप गर्ने र उपप्रमुखले  प्रमुखका अधिकार क्षेत्र हस्तक्षेप गर्ने जस्ता हरकतहरु जिल्लामा प्रायः चर्चाको विषय वन्ने गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार स्पष्ट बिभाजन गरिदिएको छ । यसमध्ये उपप्रमुखले मुख्यतः न्यायीक समितिको संयोजक भएर कार्य गर्ने, प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्नेजस्ता छन् ।

तर गौशाला नगरपालिकामा भने उपप्रमुख रेणु कुमारी महतोले प्राप्त जिम्मेवारीहरुलाई कार्यान्वयन गर्न खोज्दा मेयर डा. दिपेन्द्र महतोले छेक्ने र विफल बनाउने गरेको भन्दै बिवाद भएको लामै समय भइसक्यो ।

अनुगमनमा कडाइ गर्दा प्रमुखको निशानामा

राजनीतिक पृष्ठभूमिमा नै हुर्किएकी उपप्रमुख महतोका बुवा सर्लाहीको बरहथवा नगरपालिकाका पुर्वप्रमुख हुन् ।

बुवा नगरप्रमुखमा निर्वाचित भएदेखि जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारको खोजी गर्न लागेकी महतो गौशालामा आफैँ उपप्रमुखमा निर्वाचित भइन् ।

पहिला त उनले उपभोक्ता समिति र ठेकेदारहरुले गरेको कामको निगरानी बढाइन । अनुगमनको क्रममा भएका कामहरु निक्कै कमसल र गुणस्तरहीन भएको पहिचान भएपछि  भुक्तानी रोक्न सिफारिस गर्ने प्रक्रिया अगाडि बढाउन थालिन् ।

‘विकास निर्माणका कामहरुमा निगरानी बढाउन थालेपछि यो टाउको दुखाइ ठेक्केदारको मात्र बनेन, नगरप्रमुखले नै पनि आपत्ति जनाउन थाले,’ उपप्रमुख महतोले वडापालिकासँग भनिन्, ‘मलाइ मेरा सबै क्षेत्राधिकारमा रोक्ने काम निरन्तर जारी छ ।’

स्थानीय सरकार संचालन ऐन २०७४ मा अनुगमनका क्रममा योजनाको चित्त नबुझेको खण्डमा भुक्तानी रोक्न सकिनेसम्मको अधिकार उपप्रमुखलाई दिइएको छ । निर्वाचित भएदेखि नै  विकासका कामको अनुगमनमा लागेकी उपप्रमुख महतोले  दर्जनाैँ कामहरु गुणस्तरहीन भएको पहिचान गरिन् ।

यही विषय नै नगरप्रमुखको मुख्य असन्तुष्टि बन्यो । त्यसपछि उपप्रमुखले सदर नगरेका कतिपय विकास निर्माणका कामहरुको भुक्तानी धमाधम हुन थाल्यो ।

कर्मचारीहरुको समेत असहयोग

गुणस्तरहीन कामको पहिचान गरेपछि भुक्तानी रोक्न योजना शाखालाई उपप्रमुखले निर्देशन दिएपनि प्रमुखको आडमा भुक्तानी भएको महतोको दाबी छ ।

पटकपटक लिखित, मौखिक निर्देशन दिएपनि कर्मचारीहरुले अटेर गरेपछि उपप्रमुखरले सुरुमा फाइल नै नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् ।

यही बिषयमा कर्मचारीहरुले नगरप्रमुखको उक्साहटमा लागेर हातपातसमेत गरेको महतो दाबी गर्छिन् । कर्मचारीहरुले यसअघि उपप्रमुखलाई कारवाही गर्न माग गर्दै सामुहिक विज्ञप्ति समेत निकालेका थिए ।

‘तर मैले वेवास्ता गर्दै आफ्नो काम, कर्तव्य र अधिकारलाई निरन्तरता दिइरहे । उनीहरुले तोड्न खोजे, मैले रोक्न खोजेँ,’ उनी भन्छिन् ।

शसंकित बनाउने प्रयास

उपप्रमुख महतो वेथिति रोक्न आक्रामक बनेपछि कमिसन खाएर काम गर्ने जनप्रतिनिधिदेखि कर्मचारीसम्मको टाउको दुखाइको विषय बनेको स्थानीयबासीहरुसमेत बताउन थालेका छन् । 

जसका कारण उपप्रमुखको मनोवल कमजोर वनाउने र प्रमुखरको स्वार्थअनुसार काम गर्न बाध्य बनाउने चलखेल सुरु भएको उपप्रमुख महतोको बुझाइ छ ।

उनी चढेको गाडीलाई पछ्याउने, आक्रमण प्रयाससमेत हुन थाल्यो । प्रमुखका समर्थकले आफुमाथि आक्रमणको प्रयास गरेको भन्दै उपप्रमुखले ज्यानको सुरक्षा माग्दै पत्रकार सम्मेलन सम्म गर्न भ्याइसकेकी छन् । 

गत जेठमा पत्रकार सम्मेलन गर्दै उपमेयर महतोले अधिकारको बेवास्ता गरी नगरप्रमुखले आफूखुसी गर्न खोज्ने र आफू अनुकुल मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियम विपरीत काम गर्न दबाब दिएको बताएकी थिइन् । सम्पूर्ण अधिकारलाई बाइपास गर्दै प्रमुख आक्रमणमा समेत  उत्रिएको उपमेयर महतोको गुनासो छ ।

अनि अदालतको सहारा

नगरप्रमुख दिपेन्द्र महतोले उपमेयर विना नै धमाधम निर्णय गर्न थालेपछि उपप्रमुख अदालत पुगिन् । नगरसभामा नगरप्रमुख महतोले मनोमानी ढंगले निर्णय गरेको भन्दै अदालतलेसमेत उपप्रमुखको पक्षमा आदेश दिएपछि नगरप्रमुख थप आक्रामक बनेका थिए ।

नगरसभाबाट भएका निर्णय कार्यान्वयन नगर्न जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि आफुलाई थप सुरक्षाको चुनौती बढेको उपप्रमुख महताको दाबी छ । 

मेयरको निशानामा उपमेयरको ड्राईभर !

उपप्रमुख महतोकाअनुसार एकदिन उनी जनकपुर जाँदै थिइन् । लालगढमा पुगेपछि उनको गाडी ट्राफिक प्रहरीले रोक्यो । बिना आधार १ घन्टासम्म सोधपुछ गरेर रोकेर राखेको उपप्रमुख महतोको दाबी छ ।  घटना यत्तिमा सकिएन । अनुशासनको कारण देखाउदै नगरप्रमुखले उपप्रमुखको चालकलाई निष्काशन गरिदिए । 

उपप्रमुखको गाडीमा आगजनी

नगरप्रमुख दिपेन्द्र महतोले झण्डै १ बर्ष अगाडि नै आफुले भनेको चालक राख्न उपप्रमुखलाई दबाब दिएका थिए ।  ‘ड्राईभर मैले भनेको राख्नुस नत्र गाडीमा केही भयो भने हामी जिम्मेवारी हुने छैनौँ भनेर मेयरसावले नै भन्नुभयो,’ उपप्मुख महतो भन्छिन्, भोलिपल्टै म चढ्ने  प्र२–००२–०००१ झ ०००५ नम्बरको गाडीको दायाँतर्फको टायर पुर्णरुपमा क्षतिग्रस्त भएको थियो भने पछाडिको आधा भाग जलेको थियो ।’

कार्यपालिका बैठकले भने गाडी आजगनीमा उपप्रमुखको कमजोरी देखाएको छ । गत २६ माघमा बसेको बैठकले उपप्रमुखले नै सुरक्षा सतर्कता नअपनाएको भन्दै सम्पुर्ण दोष  लगाइएको छ  ।

घटना भएको थाहा पाउनासाथ खोजतलास गर्ने प्रयास नगरिएको, रिस उठेको व्यक्तिलाई आरोप लगाइएको, व्यक्तिगतरुपमा आफैले ड्राईभर राखेको जस्ता आरोप लगाउदै गाडीको क्षतिपूर्ति र ममर्तसम्भार खर्च उपप्रमुखबाटै भराउने बैठकको निर्णयमा उल्लेख छ । 

दोषीलाई तत्काल खोजी गर्न पनि उपप्रमुखलाई बैठकवाट नै निर्देशन दिइएको छ । तर उपप्रमुख महतोले बैठकको यो निर्णयलाई नमान्ने भन्दै पुष्टि गर्न चुनौती दिएकी छिन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बैठकमा एजेन्डाहरु प्रस्तुत गरेर छलफल गरेपछि मात्र निर्णयको सहमति र असहमति लिने प्रचलन छ ।

तर नगरप्रमुखलगायत केही व्यक्तिहरु बसेर निर्णय र छलफलपछि मात्र हस्ताक्षर गर्न माइन्युट बैठकमा पेश गरिने गरेको उपप्रमुख महतोको दाबी छ । 

‘एजेन्डाहरु पारित गर्नुभन्दा पहिला सन्तुष्टि, असन्तुष्टि रहन सक्छन् तर त्यो नगरिकन सिधै हस्ताक्षर गर्न पेपर अगाडि ल्याइन्छ ।लोकतान्त्रिक प्रक्रियामा यो जत्तिको निरकुंश के हुन्छ?,’ उपप्रमुख भन्छिन् । 

बैठक लाइभ गर्न माग

उपमेयर महतोले नगरपालिकामा हुने सम्पुर्ण निर्णय सार्वजनिक गर्न माग गरेकी छन् । जनतावाट निर्वाचित जनप्रतिनिधिहरुले गरेको निर्णय र छलफल जनताले सुन्न र हेर्न पाउने अधिकार रहेको उनको भनाइ छ ।

‘जनतालाई लुकाएर गर्नुपर्ने निर्णय केही हुँदैन । जनप्रतिनिधिले गरेका हरेक गतिविधि जनताले प्रत्यक्ष थाहा पाउनुपर्छ,’ उनी भन्छिन् । 

नगर प्रमुख भन्छन्ः झुटको पुलिन्दा 

नगरप्रमुख डा. महतो भने उपप्रमुखले लगाएका सबै आरोपहरु झुटा र मिथ्या भएको दाबी गर्छन् । सुशासनको लागि आफू लागिपरेको बताउदै उपप्रमुख प्रमुखलाई असफल बनाउन योजनावद्ध रुपमा लागेको बताउँछन् । 

आर्थिक समृद्धिका कामहरु अगाडि बढेको र आफ्नो कार्यकालमा महसुस हुनेगरी विकास गरेका कारण केही व्यक्तिहरु उपप्रमुखलाई अघि सारेर आफुविरुद्ध उत्रिएको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update